logo
२०८१ बैशाख ८ शनिवार



भोटेवहालबाट ६ युवतीसँगै १२ जुवाडे पक्राउ

खुला |


भोटेवहालबाट ६ युवतीसँगै १२ जुवाडे पक्राउ


देवबहादुर कुँबर 
काठमाडौँ, साउन ६ गते । काठमाडौँ महानगरपालिका–११ भोटेवहालस्थित दिनेशकुमार शेरचनको घरमा सञ्चालित अबैध जुवा अखडामा प्रहरीले बुधबार साँझ छापामारी करीव तीनलाख नगद सहित १२ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक अपिलराज बोहराको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा उक्त अबैध जुवा अखडामा छापा मारेको हो । पक्राउ परेकाहरु मध्ये ६ जना युवती रहेका छन् ।
घरधनी तथा जुवा अखडा सञ्चालक शेरचनले अबैध मिनी क्यासिनो सञ्चालन गरी युवा–युवती जम्मा पारी व्यवसायिकढंगले जुवा तथा कौडा खेलाउने गरेको भनाई प्रहरीको छ । घटनास्थलबाट दुईलाख ९१ हजार नगद, २१ बुक तास र जुवा खेल्न प्रयोग हुने प्लाष्टिकको क्वाइन ४५ थान बरामद भएको छ ।
त्यस्तैं, विभिन्न ब्यक्तिको साथबाट तीनलाख ७० हजार रकम उल्लेख गरिएको चेकहरु पनि फेला परेका छन् । जुवा खाल बनाइ लाखौ रुपियाँ हारजित गर्ने, महिलाहरुलाई जुवासँगै रमाइलोको बस्तु बनाउने गरेको पाइएको छ ।
महानगरीय प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा घरधनी तथा सञ्चालक ५० वर्षीय शेरचन, ३४ वर्षीय हरिशरन थापा, भातीय नागरिक ३४ वर्षीय राहुल गुप्ता, धादिङका ३२ वर्षीय सुमन अधिकारी, ४४ वर्षीय क्षेत्रबहादुर मोक्तान र ५१ वर्षीय ज्योतिप्रकाश श्रेष्ठ रहेका छन् ।
त्यस्तै महिला जुवाडेहरुमा जैसीदेवलकी ५० वर्षीय रन्जना प्रधान, बागलुङकी २४ वर्षीय सिर्जना खत्री, धादिङ मलेखुकी ३० वर्षीय सरिता मल्ल गुरुङ, काभ्रेकी ३० वर्षीय लक्ष्मी बानियाँ, झापा हल्दीबारीकी २४ वर्षीय चीना नेम्वाङ, भारत गुजरात घर बताउने ४० वर्षीय पुष्पा वली रहेका छन ।
जुवाखालबाट छिरिङ ढाढक नाम गरेको ब्यक्तिको नाउँको ग्लोबल आइएमई बैंकको चेक, नखोलिएको तासको गण्ड्डी ११ थान बरामद भएको जानकारी प्रहरीले दिएको छ । पक्राउ अभियुक्तलाई कालिमाटी बृत्त प्रहरीको हिरासतमा राखी कानुनी कारवाही भइरहेको छ ।
अबैध गतिविधि तथा सामाजिक विकृति नियन्त्रणमा कालिमाटी प्रहरी बृत्त उत्कृष्ठ ठहरिएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले अबैध जुवा अखडामा छापामार्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिएको बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?