logo
२०८१ बैशाख ८ शनिवार



नवदूर्गा मन्दिर पुनःनिर्माण सम्पन्न, साे क्षेत्रलाई संग्रहालय बनाउने तयारी

खुला |
समाज |


नवदूर्गा मन्दिर पुनःनिर्माण सम्पन्न, साे क्षेत्रलाई संग्रहालय बनाउने तयारी


 

गाेरखापत्र अनलाइन

ललितपुर, साउन २ गते । वि.सं. २०७२ को भूकम्पले क्षति पु¥याएको ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदूर्गा भवानीदेवी मन्दिर पुनःनिर्माण सम्पन्न भएकाे छ । गत बिहीबार बाजागाजासहित नवदूर्गा भवानीदेवी मन्दिरमा गजुर राखिएकाे छ ।

पाटन दरवारसँग सम्बन्धित सबभन्दा पूरानो जात्रामध्ये लिच्छवी राजा मानदेवले स्थापना गरेको मनमानेश्वरी देवीको पूजाविधि पर्व र यससँग सम्बन्धित नवदूर्गा नाच पनि साेही अवधिकाे भएकाे बताइएकाे छ ।

नवदूर्गा नाच प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णिमाको अवसरमा चार दिन पाटन दरवार क्षेत्रस्थित मूलचोकमा प्रर्दशन गर्नुपर्ने प्रचलन छ । देवमाला वंशावलीमा नवदुर्गा मन्दिर स्थापना गरेर सात सय घरधुरी बसाली ठेचो बस्ती स्थापना गरेको उल्लेख छ ।

उपत्यकाका विभिन्न शक्तिपिठमध्ये एक मानिएको नवदुर्गा मन्दिर ठेचोका रैतानेका इष्टदेवता हुन् । पुरात्तत्व विभागले पुनःनिर्माणा गर्न २०७६ मा दुई करोड १६ लाख ६३ हजार २३६ रुपैयाँ बजेट विनियोजित गरेको थियो ।

ऐतिहासिक नवदूर्गा नाच र पुरातात्विक महत्वसँग गाँसिएको नवदूर्गा भवानीदेवी मन्दिर गुठीका अध्यक्ष धर्मराज मालीले मन्दिरको पुनःनिर्माणसँगैे यहाँको सत्तललाई संग्रहालयको रुपमा परिणत गर्ने योजना रहेको बताउनुहुन्छ ।

‘नवदुर्गा मन्दिरको अर्को गुठी घर निर्माण सम्पन्न भएपछि त्यहाँ संस्कृति सम्पदाबारे अध्ययन अनुसन्धान गर्न आउने अध्यताहरू बस्ने होमस्टे बनाउने लक्ष्य छ,’ उहाँले भन्नुभयाे, ‘यसले नवदूर्गा गुठीसँगै गोदावरी नगरपालिकालाई राजश्व भित्रेर मुलुकको अर्थतन्त्र बलियो बनाउन थप टेवा पुग्नेछ ।’

साे विषयमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मन्दिरसँगै नवदूर्गा नाच संरक्षण गर्न अक्षयकोषको व्यवस्था गरेको बताउनुभयाे । ‘१२ वर्षे जात्रा सञ्चालन गर्न पनि छुट्टै अक्षयकोषको व्यवस्था गरेका छौं,’। विगतमा विविध कारणले रोकिएको नवदूर्गा नाच स्थानीय, पत्रकार दबू र यल साँस्कृतिक पर्व संरक्षण समितिलगायतको सामूहिक पहलमा तीनवर्षदेखि पुनः निरन्तरता पाइरहेकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?