logo
२०८१ बैशाख ७ शुक्रवार



विपत्बाट हुने क्षति न्यूनीकरणको तयारी

खुला |


विपत्बाट हुने क्षति न्यूनीकरणको तयारी


चाँदनी हमाल

काठमाडौँ, जेठ २७ गते । यस वर्षको मनसुन सुरु हुन तीन दिन मात्र बाँकी रहेको र औसतभन्दा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरिसकेको छ । मनसुनसँगै विपद् पनि आउने भएकाले त्यसको चिन्ता पनि हुने गर्छ ।
यस वर्षको मनसुनजन्य विपत्बाट १८ लाख २० हजार व्यक्ति प्रभावित हुने अनुमान गरिएको छ । त्यसमध्ये १७ लाख बाढीबाट र एक लाख २० हजार पहिरोबाट प्रभावित हुने अनुमान छ ।
यस वर्ष कोरोना महामारी त छँदैछ, सँगसँगै बाढी, पहिरो, सर्पदंश वर्षायाममा आउने विपत्ले चिन्ता थपेको हो तर यी प्राकृतिक प्रकोप र विपत्बाट बच्ने र बचाउने तथा क्षति कमभन्दा कम गर्न आवश्यक तयारी पनि सुरु भइसकेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ निर्माण गरिसकेको छ । कार्यान्वयन कसरी गर्ने भन्नेबारे उत्तिकै चुनौतीपूर्ण छ । त्यसकै लागि विपत् जोखिम न्यूनीकरणका लागि राष्ट्रिय कार्यमञ्चको आयोजनामा बुधबार भएको वृहत् वेबिनारमा सरोकारवाला निकायका पदाधिकारीले पूर्वतयारीको कार्ययोजना कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सारा बेस्लो नायन्तीले नेपाल विविधताको देश भएकाले पनि विपत्का धेरै चुनौती रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारसँग संयुक्त राष्ट्रसङ्घ सधँै साथमा छ । कोभिड महामारी, मनसुनको जोखिम र आर्थिक सङ्कटलाई ध्यानमा राखेर योजना बनाउनुपर्छ ।”
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विपत्ले अवसर पनि ल्याउने चर्चा गर्दै विपत्को जोखिम कम गर्न सबै निकायबीच सहकार्य र साथसाथै काम गर्नुको विकल्प नरहेको बताउनुभयो ।

प्रभावित सङ्ख्या बढ्न सक्ने
प्राधिकरणका उपसचिव वेदनिधि खनालले कार्यपत्र प्रस्तुत गर्दै यस वर्षको मनसुनले अघिल्ला वर्षभन्दा बढी क्षति हुने आकलनका साथ पूर्वतयारी सुरु भएको बताउनुभयो । नेपालमा विगत दस वर्षमा मनसुनजन्य विपत्को विश्लेषण गर्दै उहाँले पहिरोमा परेरमात्र एक लाख २० हजार जनसङ्ख्या प्रभावित हुने अनुमान सार्वजनिक गर्नुभयो ।
प्राधिकरणका विज्ञ राजेन्द्र शर्माका अनुसार साउन र असोजको सुरुमा बढी जोखिम अनुमान विगतका घटनाले देखाएको औँल्याउनुभयो । उहाँका अनुसार पहिरो र बाढीबाट नेपालका सबैजसो स्थान जोखिममा छन् । यसपटक गत वर्षभन्दा बढी डढेलो लागेका कारण पहिरो जाने सम्भावना बढी छ । बाढी पनि दुई/तीन जिल्लाबाहेक सबैतिर सतर्क रहनुपर्ने अवस्था छ ।

पूर्व तयारीको रूपरेखा
मनसुनी विपत् आइहालेमा स्थानीयलाई स्थानान्तरण गर्न प्राधिकरणले विभिन्न क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ । प्राधिकरणका निर्देशक अनिता निरौलाले मनसुनी विपत्सँगै कोभिड महामारी पनि जारी रहेकाले पनि अझ सजग भएर सहकार्य गर्नु जरुरी रहेको औँल्याउनुभयो ।
विपत् जोखिम न्यूनीकरणका लागि राष्ट्रिय कार्यमञ्चको सचिवालयका सूर्यबहादुर थापाले नौवटा सेक्टर बनाएर अगाडि बढ्नुपर्ने बताउँदै विकट स्थानमा खाद्यान्न, औषधिलगायतको अहिल्यै व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । भूगर्भ तथा खानी विभागको प्रतिनिधित्व गर्दै सुचिता श्रेष्ठले पहिरोको जोखिम न्यूनीकरणका लागि १९ वटा जिल्ला र १२५ स्थानीय तहमा अध्ययन भएको छ भन्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?