logo
२०८१ बैशाख १२ बुधवार



प्रम अनौपचारिक छलफलमा, सम्भव भए आजै नभए भोलिसम्म मन्त्रीहरूकाे शपथ हुने

राष्ट्रिय |


प्रम अनौपचारिक छलफलमा, सम्भव भए आजै नभए भोलिसम्म मन्त्रीहरूकाे शपथ हुने


लक्की चाैधरी 
काठमाडौं, जेठ २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग रहेको मन्त्रालयबाट केही मन्त्री थप्ने तयारी स्वरुप अहिले अनौपचारिक छलफलमा व्यस्त रहनुभएको छ । सम्भवतः आज साँझसम्म मन्त्री थपेर पद तथा गोपनीयताको शपथ गराउने तयारी उहाँको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले अनौपचारिक छलफल जारी रहेको र कुरा मिले आजै मन्त्रिपरिषद विस्तार हुनसक्ने बुझाई एमालेका नेताहरुको छ । प्रधानमन्त्रीसँग सातवटा मन्त्रालय रहेको तर आकांक्षी धेरै भएकाले कुरा मिलाउन केही समय लाग्ने बालुवाटार स्रोतले बताएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार मन्त्रीपरिषद विस्तारको तयारी प्रधानमन्त्री ओलीले गर्नु भएपनि मन्त्री बन्ने सूची अन्तिमरुप पाइसकेको छैन । सम्भव भएसम्म आज साँझसम्म शपथ गराउने तयारी सुनेको थिएँ, तर आजै सम्भव नभएमा अर्को दिनलाई सर्न सक्ने उहाँले बताउनुभयो । नेता माधवकुमार नेपाल पक्षका नेताहरुसँगको अनौपचारिक छलफल जारी रहेको र माओवादीबाट एमाले प्रवेश गरेका केही नेताहरुलाई समेत जिम्मेवारी दिने गृहकार्यले केही ढिलाई भएको बताइएको छ ।

विस्तार हुने मन्त्रिपरिषदमा मन्त्रीको जिम्मेवारी पाउने संकेत पाइसक्नुभएका नेताहरु तयारी अवस्थामा आफूहरु बसेको बताउनुभएको छ । यसअघिसम्म आज आइतबार साँझसम्म शपथ हुनसक्ने जानकारी प्राप्त भएपनि अहिलेसम्म त्यो खवर आइनपुगेको उहाँहरुको भनाई छ । आफूहरु बालुवाटारको खवरको प्रतिक्षामा रहेको उहाँहरुले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले अहिले आफूसँग रक्षा, गृह, कृषि तथा पशुपन्छी विकास, उद्योग बाणिज्य तथा आपूर्ति, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय राख्नुभएको छ । सो मन्त्रालयको जिम्मेवारीका लागि एमाले नेताहरु अहिले दौडधुपमा रहनुभएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफूसँगै राखेर बाँकी मन्त्रालयको जिम्मेवारी बाँडफाँटको तयारी गर्नुभएको छ ।

यो चुनावी सरकार भएकाले अहिले गृह मन्त्रालय महत्व अझ बढी छ । आगामी निर्वाचन सम्पन्न गराउन सक्ने आँटिलो मन्त्रीको खोजीमा प्रधानमन्त्री ओली लाग्नुभएको बुझिएको छ । तर सोचेकोजस्तो उम्मेदवार अझै तय भइनसकेको बताइएको छ । सो मन्त्रालयका लागि पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेत, सुदूरपश्चिमका नेता कर्ण थापाको नाम चर्चामा छ ।

त्यस्तै, मन्त्री बन्ने अन्य सूचीमा नारदमुनी राना, राजेन्द्र गौतम, विशाल भट्टराई, पार्वती विसंखे, राजबहादुर शाही, झपट बोहरा, विद्या भट्टराई, विमला पौडेल राई लगायतको नाम चर्चामा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप