logo
२०८० चैत्र १५ बिहीवार

दरबारका धेरै महत्वपूर्ण सामग्री प्रदर्शन हुन बाँकी

पढ्नै पर्ने |
फोटो फिचर |


2021-06-02-38785
तस्बिरः रोहित ढुङ्गाना/प्रकृति अधिकारी


प्रकृति अधिकारी

काठमाडौं, जेठ १९ गते । कोरोना (कोभिड–१९) सङ्क्रमणले तत्कालीन राजपरिवारसँग सम्बन्धित धेरै स्थान र सामग्री प्रदर्शनीमा ल्याउन सकिएको छैन । नारायणहिटी दरबारभित्र अझै यस्ता धेरै कुरा छन् जुन प्रदर्शनीमा आइसकेपछि राजपरिवारको जीवन चरित्रका बारेमा थप स्पष्ट हुन सकिनेछ ।
नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले भन्नुभयो, “कोभिड–१९ ले धेरै असर गरेको छ । सार्वजनिक प्रदर्शनीमा ल्याउने योजना बनाइएका कुराहरु थन्किएकका छन् । आगामी असारभित्र केही त प्रदर्शनीमा आउनेछन् ।”
सबैभन्दा पहिले तत्कालीन राजपरिवारले प्रयोग गर्ने गरेका सबै कारहरु प्रदर्शनीमा ल्याउने योजना बनाइएको छ । राजपरिवारको ग्यारेजलाई मर्मत गरी केही कार प्रदर्शनीमा ल्याइसकिएको छ । कतिपय कार कामै नलाग्ने अवस्थामा रहेकाले तिनलाई सामान्य मर्मतपछि राख्नुपर्नेछ । दरबारभित्र रहेका सबै कार अझै पनि ‘श्री ५’को नाममा कायम छन् । गणतन्त्र नेपालका सर्वाेच्च व्यक्तिहरुले अहिले पनि प्रयोगमा ल्याइरहेका कतिपय कार तत्कालीन राजपरिवारले प्रयोग गरेका हुन् र अझै पनि ती ‘श्री ५’कै नाममा सवारी दर्ता छन् । “धेरै मन्त्रालयहरुले पनि यहाँबाट कार लिएर गएका छन् । ती प्रयोग भइरहेका छन्” समितिका कार्यकारी निर्देशक दाहालले थप्नुभयो, “सम्बन्धित निकायले नामसारी गर्नुपर्ने हुन्छ । दरबारभित्र हामीले प्रयोग गरिरहेका कारको नामसारी पनि हुनसकेको छैन ।”
तत्कालीन राजा त्रिभुवनले प्रयोग गर्ने गरेको पौडी पोखरीको दुरावस्था छ । त्यही नजिकै रहेको तबेला र गोठ पनि जीर्ण भइसकेका छन् । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा नेपाली सेनाले तबेला र गोठ भत्काएर नयाँ भवन संरचना निर्माण गराउन मन्त्रिपरिषद्बाट स्वीकृति लिइसकेको थियो तर अधिक विरोध भएपछि सो रोकिन पुगेको थियो ।
दरबारभित्र आवश्यक पर्ने फर्निचर त्यहीभित्रको कम्प्टोलर अफिसले तयार गरिदिने गरेको थियो । सो अफिस परिसरमा रहेको सःमिल तथा सयौँ काठ तथा मुढा अलपत्र छ । तत्कालीन राजा र रानीको बेग्लाबेग्लै हेलिप्याड पनि वेवारिसे अवस्थामा छन् ।
हालै तत्कालीन राजा वीरेन्द्रको निजी निवास अवलोकनका लागि खुला गरिएको छ । तत्कालीन राजाले प्रयोग गरेका हेलिकोप्टर र हवाइजहाजलाई पनि ल्याइएको छ ।
समितिका कार्यकारी निर्देशक दाहालले तत्कालीन राजा वीरेन्द्रले आफ्नो विवाहमा प्रयोग गरेको बग्गी हस्तान्तरण गर्न नेपाली सेना तयार भइसकेको बताउँदै भने, “त्यो बग्गी पनि छिटै ल्याएर प्रदर्शनीमा राख्दैछौँ । सिनेमा हलमा रहेको एउटा उपकरण बिग्रिएकाले त्यो फेर्दैछौँ । त्यो चालु आर्थिक वर्षमा फेरेपछि अवलोकन गर्न आउनेहरुले राजपरिवारले हेर्ने गरेका सिनेमा पनि देखाउँछौँ ।”

तस्बिरः रोहित ढुङ्गाना/प्रकृति अधिकारी