logo
२०८१ बैशाख ८ शनिवार



चीनद्वारा थप १० लाख डाेज खोप उपलब्ध गराउने घोषणा

पढ्नै पर्ने |


चीनद्वारा थप १० लाख डाेज खोप उपलब्ध गराउने घोषणा


चाँदनी हमाल

काठमाडौँ, जेठ १२ गते । चीनले नेपाललाई थप दस लाख मात्रा कोरोना (कोभिड–१९)विरुद्ध खोप अनुदानमा दिने भएको छ । चीनले यसअघि पनि आठ लाख डोज खोप सहयोग गरिसकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन वार्ताका क्रममा चीनका राष्ट्रपति सी चिन फिङले नेपाललाई अनुदान स्वरूप थप खोप दिने जानकारी दिनुभएको हो । टेलिफोन वार्तामा राष्ट्रपति भण्डारीले चीनबाट खोप उपलब्ध गराउन सहजीकरण गर्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो आग्रह स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सीले कोभिड विरुद्धको खोप विश्वव्यापी सार्वजनिक वस्तु भएकाले त्यो सबैले पाउनुपर्नेमा जोड दिनुभयो ।
नेपालले वर्तमान अवस्थामा कोभिड महामारीको दोस्रो लहरको सामना गरिरहेको परिस्थितिको आफू जानकार रहेको बताउँदै राष्ट्रपति सीले कोभिड विरुद्धको यो लडाइँमा चीनले नेपाललाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । साथै उहाँले खोप र अन्य सहकार्यका मामलामा नेपाल सधैँ चीनको प्राथमिकतामा रहेको विश्वास दिलाउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले जनाएअनुसार टेलिफोन वार्तामा राष्ट्रपति भण्डारी र सीबीच द्विपक्षीय सम्बन्ध र कोभिड–१९ सँग सम्बन्धित विविध विषयमा छलफल भएको छ ।
राष्ट्रपति भण्डारीले चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको थप दस लाख मात्रा खोपका लागि राष्ट्रपति सीलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपालको यस सङ्कटको घडीमा यस घोषणा र सहकार्यले कोभिड महामारीसँग निरन्तर लड्न थप हौसला बढेको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो । असल छिमेकीका नाताले यसअघि चीन सरकारले उपलब्ध गराएको कोभिड विरुद्धको आठ लाख मात्रा खोप, जीवन रक्षा गर्ने औषधि तथा स्वास्थ्य सामग्रीका साथै विविध सहयोगका लागि राष्ट्रपति भण्डारीले नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्नुभयो । चीनबाट कोरोनाविरुद्ध सहयोग जारी रहेको छ । चिनियाँ सरकार र त्यहाँका प्रान्तीय सरकार एवं सङ्घ संस्थाको तर्फबाट कोरोना महामारीका समयमा अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग आउँदै छन् । ती सामग्रीमा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, मास्क, आयूसीयू बेड, भेन्टिलेटर लगायतका विविध सामग्री रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?