logo
२०८१ बैशाख ७ शुक्रवार



थप सहयोगका लागि स्थानीय तहको आग्रह

राष्ट्रिय |


थप सहयोगका लागि स्थानीय तहको आग्रह


नगेन्द्र सापकोटा

काठमाडौँ, जेठ १२ गते । स्थानीय तहका जनप्रतिनिधिले कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय तहको कोषमा बजेट सकिएकाले थप बजेट सहयोग गर्न सङ्घ र प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
चालू आर्थिक वर्षमा कोरोना रोकथाम र नियन्त्रण गर्न विनियोजित बजेट खर्च भइसकेको तथा कोरोना रोकथामका लागि थप बजेट आवश्यक पर्ने भएकाले स्थानीय तहले सङ्घ र प्रदेश सरकारसँग आग्रह गरेका हुन् ।
अधिकांश ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि नागरिकले गाउँपालिका र नगरपालिकाको कार्यालयमा अनुरोध गर्न थालेका छन् । गाउँमा सङ्क्रमण भइहाले अस्पताल, चिकित्सक, औषधि र अक्सिजनलगायतको अभाव हुने एवं ज्यानै जाने जोखिम भएकाले त्रास बढ्दै गएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।
अहिले स्थानीय तहले आफ्नो साधन र स्रोतले भ्याएसम्म आइसोलेसन कक्ष निर्माण गर्ने, स्थानीय तहभित्र स्वाब परीक्षण गर्ने, कन्ट्याक टेसिङ गर्ने, भीडभाड गर्न नदिने, स्वास्थ्य मापदण्ड पालना गर्न टोलटोलमा समिति निर्माण गरी अनुगमन गर्ने कार्य गर्दै आएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जनाएका छन् । स्थानीय तहमा अत्यावश्यक सेवाबाहेकका कार्यालय सञ्चालन गर्न नदिने र खाद्यान्नलगायतका पसललाई निश्चित समयमा मात्र खोल्न लगाउने, सामग्री खरिद गर्दा सामाजिक दूरी कायम गर्न लगाउने लगायतका काम स्थानीय तहले गर्दै आएका छन् ।
नेपाल नगरपालिका सङ्घका महासचिव एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गानाले नागरिकको आशा र भरोसा गर्ने नजिकको सरकार स्थानीय सरकार नै भएकाले कोरोना रोकथाम र नियन्त्रणमा थप प्रयास गर्न माग आउने गरेको बताउनुभयो ।
कोरोना सङ्क्रमण बढ्दै जाँदा सबैभन्दा बढी दबाब स्थानीय तहलाई पर्ने गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “चालू आर्थिक वर्षमा कोरोना महामारी नियन्त्रणका लागि विनियोजन गरेको बजेट खर्च भइसकेको छ । आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको प्रक्रियामा रहेकाले अहिले स्थानीय तहलाई कोरोना रोकथाम र नियन्त्रणका लागि बजेट अभाव हुन थालेको छ । ”
उहाँका अनुसार अहिले कोरोना रोकथाम र नियन्त्रण गर्न भन्दै सङ्घ र प्रदेशबाट कुनै बजेट उपलब्ध गराइएको छैन । जिल्ला विपद् व्यवस्थापन कोषमा पर्याप्त बजेट भएकाले त्यो रकम जिल्लाभित्रका स्थानीय तहले खर्च गर्ने व्यवस्था गर्न उहाँले सरकारलाई
आग्रह गर्नुभयो ।
नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले स्थानीय तहको आफ्नै साधन र स्रोतले भ्याएसम्मका काम गाउँपालिकाले गरिरहेको तर थप काम गर्न बजेटको अभाव भएको बताउनुभयो । “शिवपुरी गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै यसअघि नै अक्सिजनसहितको २० शøयाको आइसोलेसन कक्ष र एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान गरेका छौँ,” उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?