logo
२०८० चैत्र १६ शुक्रवार



सङ्क्रमणमा सामान्य कमी

मुख्य समाचार |


सङ्क्रमणमा सामान्य कमी


सरोज ढुङ्गेल

काठमाडौँ, जेठ ५ गते । कोरोना भाइरसको सङ्क्रमणमा सामान्य कमी आएको छ । निषेधाज्ञाको २० दिनपछि राजधानी उपत्यकामा पनि सामान्य कमी आउन थालेको छ ।
अघिल्लो दिनको तुलनामा मङ्गलबार एक हजार ४४ जनाभन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सामान्य कमी आएको हो । अघिल्लो दिन नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार २४७ थियो । मङ्गलबार त्यो सङ्ख्या घटेर आठ हजार २०३ भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा २० हजार २८६ जनाको पीसीआर र ६९३ जनाको एन्टिजेन परीक्षणको क्रममा थप आठ हजार २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख ७२ हजार ३५४ पुगेको छ । यसैगरी विगत २४ घण्टामा थप १९६ जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार ४११ पुगेको छ । देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार ५२९ पुगेको छ । यस्तै छ हजार ८९१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुने सङ्क्रमितको सङ्ख्या तीन लाख ५२ हजार ४१४ जना पुगेको छ ।
यसैबीच काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण दर घट्दो क्रममा छ । मङ्गलबार काठमाडौँ उपत्यकामा दुई हजार ६३५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो दिन तीन हजार ९८ जनालाई कोरोना पुष्टि भएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?