logo
२०८१ बैशाख ८ शनिवार



कोरोना संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न चिकित्सकको सुझाव

खुला |
स्वास्थ्य |


कोरोना संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न चिकित्सकको सुझाव
सांकेतिक तस्वीर


यलुु जोशी

काठमाडौँ, वैशाख ३० गते । सामाजिक सञ्जाल हेरेर वा कसैको भनाइका आधारमा कोरोना सङ्क्रमितले औषधि त सेवन गरिरहनुभएको छैन ? आफूखुसी कुनै पनि औषधि सेवन गर्न नहुने चिकित्सकको सुझाव छ ।
कोरोना महामारीको दोस्रो लहरले जनजीवन अस्तव्यस्त बनाएको र त्रास बढिरहेको अवस्थामा चिकित्सकको सिफारिसबिनाका औषधि सेवन गर्नेको सङ्ख्या धेरै रहेको चिकित्सकहरूको दाबी छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भन्नुभयो, “पछिल्लो समय जथाभावी एन्टिबायोटिक औषधिको सेवन बढेको कुरा आइरहेको छ । यो एकदम गलत हो । हल्ला र असम्बन्धित व्यक्तिले भनेको भरमा यसरी औषधि खानु हुँदैन । ” आफूखुसी निर्णय गरेर औषधि खाँदा त्यसले झनै गम्भीर समस्या निम्त्याउने उहाँले प्रस्ट पार्नुभयो । डा. पुनले भन्नुभयो, “सामान्य लक्षण देखिएका व्यक्तिले भने लक्षणअनुसारको औषधि खानुपर्छ, त्यो पनि चिकित्सकको परामर्शमा । पीसीआर पोजेटिभ देखियो तर लक्षण देखिएन भने औषधि
खाइरहनु जरुरी छैन । ”
सङ्क्रमितले अस्पताल आउनुअघि नै एन्टिबायोटिक खाएर आउने गरेको भेटिएको डा. पुनले जानकारी दिनुभयो । उहाँका अनुसार जुनसुकै एन्टिबायोटिक औषधिले पेटमा असर गर्छ, दिसा पातलो हुने, वाकवाक लाग्ने र अरुचि लाग्ने हुन्छ । बिरामीको प्रकृति हेरेर विभिन्न खालका औषधि चलाउनुपर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “रगत, एक्स–रे रिपोर्ट हेरेर कुन औषधिले राम्रो गर्छ, त्यही मात्र दिनुपर्छ । ”
छाती रोग विशेषज्ञ रक्षा पाण्डेले आफूखुसी औषधि खाएर पनि दीर्घरोग लाग्ने सम्भावना धेरै हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ भाइरल रोग भएकाले यसमा जुन खालको समस्या हुन्छ, त्यसअनुसारको उपचार गर्ने हो । भाइरसका कारण हुने रोगमा एन्टिब्याक्टेरिएल औषधिको कुनै
आवश्यकता छैन । ”
डा. पाण्डेले लक्षणबिनाको सङ्क्रमितले पोसिलो खाना, पानी खाँदा हुने जानकारी दिनुभयो । आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रका कोभिड संयोजक डा. जितेन्द्र श्रेष्ठले पनि आफूले उपचार गर्ने सङ्क्रमितले आफूखुसी औषधि सेवन गरेर आएको
जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?