logo
२०८१ बैशाख ८ शनिवार



चार थुनुवासहित थप नौ जनामा कोरोना संक्रमण

खुला |
समाज |


चार थुनुवासहित थप नौ जनामा कोरोना संक्रमण
फोटोः बन्दाबन्दी भएको बलेवा क्षेत्र । नवीन शिशिर विक



नवीन शिशिर विक
बागलुङ, बैशाख ८ गते । जिल्ला प्रहरी कार्यालय बागलुङमा रहेका चार थुनुवासहित बागलुङमा थप नौ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा भएको पिसिआर परीक्षणमा हिरासतमा रहेका ४ थुनुवा, एक प्रहरी, दुई स्वास्थ्यकर्मी र एक कर्मचारीसहित नौ जना संक्रमित पुष्टि भएका हुन । बुधबार थप भएकासहित यहाँ कोरोना संक्रमणका ६७ जना संक्रिय संख्या पुगेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना महामारी फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

हिरासतमा रहेका थुनुवालाइ प्रहरी कार्यालयकै छुट्टै कोठामा राखेर उपचारको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । यो सँगै बागलुङमा सक्रिय संक्रमितको संख्या ६९ पुगेको छ । संक्रमित स्वास्थ्यकर्मी धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा कार्यरत हुनुहुन्छ । समुदायस्तरमा कोरोना संक्रमण पहिचान हुन थाले पछि बागलुङ नगरपालिका बागलुङको तीन वटा वडामा दश दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय अनुसार जिल्ला सुरक्षा समितिले बैशाख १७ गते राति १२ बजेसम्म लागु हुने गरी बलेवा क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको वडा नम्बर १२, १३ र १४ को क्षेत्रभित्र सञ्चालन हुने अत्यावश्यक सेवा (खाद्यान्न, तरकारी, दुध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा, कृषि तथा पशु उत्पादन मल बीउ ) स्वास्थ्य सेवा र विपत व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधन बाहेक अन्य निजी तथा सार्वजनिक यातायात (२ पांग्रे र ४ पांग्रे लगायत सबै र सम्बन्धित वडा बजार क्षेत्र समेत बन्द निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । सो क्षेत्रका संघ संस्था, बैंक तथा वित्तिय संस्था, सहकारी सेवा र वडा कार्यालयको सेवासमेत स्थगित हुनेछन । सुरक्षा समितिले अनावश्यक घर बाहिर हिडडुल आग्रह गरेको छ ।

बलेवा क्षेत्रका क्याम्पस, विद्यालय –होस्टेलसमेत) सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, पार्टी प्यालेस खेलकुद स्थल जिमखाना, कवाडी संकलन लगायतका सेवा सञ्चालन गर्न रोक लगाएको प्रजिअ कार्कीले बताउनुभयो । मंगलबार मात्र जनताधन माविका विद्यार्थीसहित ३९ जनामा कोरोना पुष्टि भएको थियो ।

विद्यार्थी तथा समुदायस्तरका व्यक्तिलाई कोरोना पुष्टि हुन थालेपछि संक्रमण रोकथामको लागि तत्काल निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सुरक्षा  समितिलाई गरेको थियो । बलेवा क्षेत्र भई कालीगण्डकी कोरिडोर तथा अन्य सडक मार्गमा चल्ने यातायातहरुले उक्त वडाहरुमा चढ्न र झर्न नपाउने गरी सञ्चालन गर्नुपर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?