logo
२०८० चैत्र १६ शुक्रवार



घरेलु तथा साना उद्योग महासङ्घको राष्ट्रिय महाअधिवेशन जेठमा   

अर्थ |


घरेलु तथा साना उद्योग महासङ्घको राष्ट्रिय महाअधिवेशन जेठमा   


 काठमाडौँ, वैशाख ४  गते । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाअधिवेशन आगामी जेठ तेस्रो साता हुने गरी तय भएको छ । महासङ्घको आज यहाँ बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी जेठ २४ देखि २६ गतेसम्म २५औँ महाधिवेशन तथा २२औँ महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।    
    
बैठकले त्यसभन्दा अगाडि प्रदेश सम्मेलन, ७७ वटै जिल्लामा अधिवेशन पनि सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । बैठकमा महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले महासङ्घको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।    
    
विगतमा भएका केन्द्रीय सचिवालय समिति बैठकका निर्णयको जानकारी र कार्य व्यवस्थापन समिति बैठकका निर्णयको बैठकले अनुमोदन गरेको थियो । महाधिवेशनका लागि समान प्रकृतिका सङ्घसंस्थासँग एकीकरणका सम्बन्धमा बैठकले निर्णय गरेको थियो । महासङ्घले नेपाल नवीकरणीय ऊर्जा परिसङ्घसँग एकीकरणका सन्दर्भमा प्रक्रिया अगाडि बढाएको छ ।    
    
परिसङ्घ नेपालमा नवीकरणीय ऊर्जा प्रविधि विकास र विस्तारमा लागि क्रियाशील रहेका निजी क्षेत्रका कम्पनी र फार्महरूको छाता सङ्गठन र गैरसरकारी संस्थाको एकल संस्थाका रूपमा रहेको गैरनाफामूलक गैरसरकारी संस्था हो । बैठकमा परिसङ्घका अध्यक्ष गुणराज ढकालले महासङ्घसँग एकीकरणका लागि गरिएको निर्णयसम्बन्धी जानकारीपत्र महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीलाई हस्तान्तरण गर्नुभएको थियो ।    
    
बैठकमा महासङ्घका अध्यक्ष श्याम गिरी, निवर्तमान अध्यक्ष सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष सूर्य कँडेललगायतले संस्थाको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?