logo
२०८१ बैशाख १३ बिहीवार



हुप्सेकोटमा पहिचान बोकेका कक्ष

राष्ट्रिय |


हुप्सेकोटमा पहिचान बोकेका कक्ष



ज्ञानु पंगेनी
कावासोती, वैशाख ४ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको कार्यालय भित्रका प्रत्येक कोठाहरुलाई स्थानीय पहिचान दिइएको छ ।
आफ्नो गाउँपालिकाभित्र पर्ने ऐतिहासिक, पर्यटकीय एवम् मौलिक पहिचान बोकेका ठाउँहरुको नाम जोगाइराख्न गाउँपालिकाको कार्यालयको प्रत्येक कार्यकक्ष र प्रसाशनिक फाँटहरुको छुट्टाछुटट्ै नामाकरण गरिएको हो ।
कार्यालय प्रवेश गर्ने वित्तिकै भवनको तल्लो तलाको एउटा कोठाको ढोकामाथि जारेभञ्ज्याङ्ग कक्ष लेखेको देखिन्छ भने छेउको अर्को कोठामाथि शान्तिबाटिका कक्ष लेखिएको छ । यस्तै भवनको दोश्रो तलमा चढने बेलामा भर्याङ्ग छेउको भित्तामा श्रीपोखर कक्ष, धौवादी कक्ष, रुद्रपुरगढी कक्ष, लालीगुराँस कक्ष, मौलाथर कक्ष र राम्चे कक्ष लेखिएको देखिन्छ ।
गाउँपालिकाको दोश्रो तलामा चढ्ने वित्तिकै उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल रहने धौवादी कक्ष देखिन्छ । लगत्तै राम्चे कक्ष, अध्यक्ष रहने श्रीपोखरी कक्ष सहित क्रमश मौलाथर कक्ष, रुद्रपुरगढी कक्ष र लालीगुँरास कक्ष रहेका छन् ।
हरेक कोठाको अलग अलग पहिचान दिँदा पुराना बस्तीहरुको पहिचानसहित यहाँ रहेका पर्यटकीय क्षेत्रहरुको प्रर्वद्धनमा समेत सहयोग पुगेको छ ।
शुरुमा यहाँ आँखा पुग्नेहरुलाई के लेखेको होला भन्ने खुलदुली लाग्न सक्दछ । नाम सुनेकाले यो यहीको ठाउँ भन्ने बुझिहाल्छन् । थाहा नभएकाहरुले पनि सोधखोज गर्छन् । भने, धेरैले हुप्सेकोट गाउँपालिका भित्रको ठाउँको नाम रहेछ भन्ने सहजै अनुमान लगाउँछन् । सँगै यहाँ ऐतिहासिक गढी र लालीगुराँस फुल्ने ठाउँ रहेछ भन्ने समेत अनुमान लगाउँछन् ।
पछिल्लो समय पुराना बस्ती र ठाउँहरुका नाम मेटिँदै जान थालेका छन् । केही व्यक्ति समूहले आफुखुसी विभिन्न नामहरु राख्ने गरेका छन् । यति मात्रै होईन आफ्नै परिवारसँग जोडेर समेत नयाँ नयाँ नामाकरण गरिरहेका हुन्छन् । यसले पुरानो अस्तित्व समाप्त पार्दै गएको भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन् । पूराना मौलिक नामहरु हराउँदै जाने होकी भन्ने चिन्ता बढेको छ । यसैले नवलपुरको हुप्सेकोट गाउँपालिकाले भने यहाँका मौलिक नामहरुको पहिचान दिने गरी कक्षहरुको नामाकरण गरेको छ ।
गाउँपालिका भित्र पनि पुराना ऐतिहासिक वस्तीको पहिचना नमेटियोस् र यहाँ रहेका पर्यटकीय क्षेत्रहरुको प्रर्वद्धन होस् भनेर गाउँपालिका भित्रका हरेक कक्षको स्थानीय पहिचान दिइएको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो । यहाँका स्थानीयलाई गाउँपालिका आउँदा आफ्नो ठाउँको नाम देख्दा अपनत्व होस् र बाहिरबाट आउनेहरुले जानकारी पाउन भन्ने उद्देश्यसमेत यस कार्यले लिएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?