logo
२०८१ बैशाख १३ बिहीवार



प्रहरीका लागि उपलब्धिमूलक वर्ष

खुला |


प्रहरीका लागि उपलब्धिमूलक वर्ष



देवबहादुर कुँवर

काठमाडौँ, वैशाख १ गते । नेपाल प्रहरीले २०७७ साललाई निकै उपलब्धिमूलक वर्ष मानेको छ । यो एक वर्षको अवधिमा प्रहरी शान्तिसुरक्षा तथा अपराध नियन्त्रण, नीति र कार्यक्रम कार्यान्वयनमा सफल देखिएको प्रहरीकै दाबी छ ।
नेपाल प्रहरीले बनाएको एक वर्षे कार्ययोजनामा १४ वटा लक्ष्य, ३४ उद्देश्य र १५६ वटा क्रियाकलाप समावेश थिए । प्रहरी केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले यी शतप्रतिशत कार्यान्वयन भएको र सफलता हासिल भएको जानकारी दिनुभयो ।
कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणदेखि नागरिक सेवा, शान्तिसुरक्षा, अपराध नियन्त्रण, विपत् व्यवस्थापन, उद्धार, उपचार र पुनस्र्थापना, फरार पक्राउ, राजस्व सङ्कलन, लागूऔषध, अवैध हातहतियार नियन्त्रण तथा आन्तरिक सङ्गठन सुदृढीकरणमा सफलता मिलेको हो ।

फरार नियन्त्रणमा
विभिन्न मुद्दामा फरार चार हजार ७०५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको छ । उहाँले २०७४ देखि २०७७ सालसम्म चार वर्षको अवधिमा यति ठूलो सङ्ख्यामा फरार अभियुक्त पक्राउ पर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । अघिल्ला तीन वर्षको तुलनामा २०७७ सालमा सबैभन्दा बढी फरार नियन्त्रणमा आएको हो ।
गम्भीर प्रकृतिका अपराध अनुसन्धानअन्तर्गत यो वर्षमा आत्महत्या र जबरजस्ती करणीसम्बन्धी अपराध उच्च देखिएको छ । प्रहरीको तथ्याङ्कअनुसार दैनिक १७ जनाले आत्महत्या र सातवटा जबरजस्ती करणी हुने गरेको छ । करणी अपराधमा संलग्न व्यक्तिको पक्राउ शतप्रतिशत छ ।
आठ प्रकारका लागूऔषध कारोबारमा संलग्न चार हजार ५४६ अभियुक्त पक्राउ परेका छन् । एक हजार ९८३ जनाविरुद्ध मुद्दा नै दर्ता भएको छ ।
सो एक वर्षको अवधिमा अवैध हातहतियारमा छोटो हतियार (पेस्तोल) ४८, लामो हतियार ३४९ गरी ३९७ वटा बरामद भएको छ । प्रवक्ता कुँवरका अनुसार विगत तीन वर्षको तुलनामा यो वर्ष सबैभन्दा बढी हतियार बरामद भएका हुन् ।

सङ्कलित राजस्व
विभिन्न मुद्दाको बिगो जरिवाना कारबाहीअन्तर्गत करिब २४ करोड ३५ लाख २३ हजार रुपियाँ, अवैध रूपमा सुन कारोबारबाट २१ करोड ८६ लाख १५ हजार रुपियाँ, भन्सार छली तथा राजस्व चुहावटबाट एक अर्ब एक करोड १५ लाख रुपियाँ, ट्राफिक कारबाहीबाट ७४ करोड ५५ लाख ३७ हजार रुपियाँ र अन्य गरी करिब चार अर्ब ५६ करोड २६ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।
विगतका वर्षको तुलनामा यो वर्ष राजस्व सङ्कलन २७ प्रतिशतले बढोत्तरी भएको प्रहरीले जनाएको छ । राजस्व छली तथा चुहावट मुद्दामा एक हजार उद्योग व्यवसायी तथा व्यापारी पक्राउ परेका छन् ।

प्रहरी नै कारबाहीमा
नेपाल प्रहरीको आन्तरिक सङ्गठन सुदृढीकरणअन्तर्गत आचरणविपरीत काम गर्ने एक हजार ३६६ प्रहरी कारबाहीमा परेका छन् । दुई हजार २३६ जनालाई पुरस्कृत गरिएको छ । १० हजार २४० जनालाई वृत्तिविकास तालिम दिइएको छ ।
मुलुकभर २३४ वटा नयाँ प्रहरी एकाइ स्थापनासँगै त्यसका लागि नौ हजार ६९७ जनशक्ति थपिएको छ । पाँच हजार ५३४ सीसीटीभी क्यामेरा जडान, ३४ स्थानमा ट्राफिक बत्ती, स्थानीय तहमा थप ३० वटा नयाँ प्रहरी पोस्ट थपिएका छन् ।

कोभिडबाट मृत्यु
कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि ३९ हजार १२५ जना परिचालन गरिएको छ । तीमध्ये १० हजार जनशक्ति अझै तयारी अवस्थामा राखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सात हजार तीन सय कोरोना सङ्क्रमितमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?