logo
२०७८ बैशाख ५ आईतवार



नखुलेका इतिहासका सयौँ पाना

खुला |


नखुलेका इतिहासका सयौँ पाना


प्रकृति अधिकारी

काठमाडौँ, चैत २६ गते । शीतल निवासबाट राष्ट्रिय अभिलेखालय पु¥याइएका ऐतिहासिक हजारौँ दस्तावेज बन्द कोठामा थन्क्याएर राखिएको छ । ती दस्तावेजमाथि अनुसन्धानकर्ताको पहुँच नपुग्दा कतिपय इतिहासका पाना खुल्न पाएका छैनन् ।
परराष्ट्र मन्त्रालय रहेको महाराजगञ्जस्थित शीतल निवासलाई राष्ट्रपतिको कार्यालय बनाइएपछि २०६७ सालमा ती दस्तावेज संरक्षणका लागि अभिलेखालयमा ल्याइएको थियो । अभिलेखालयभित्रको एउटा कोठामा पोका बनाएर दस्तावेज राखिएको छ । दस्तावेज करिब आठ सय पोकामा छन् ।
अभिलेखालयका निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गले भन्नुभयो, “ती दस्तावेज परराष्ट्र मन्त्रालयको सम्पत्ति हो । अझैसम्म हस्तान्तरण नभइसकेकाले तिनमा अधिकार नभएकाले सार्वजनिक गर्न वा अनुसन्धानकर्तालाई हामीले उपलब्ध गराउन मिल्दैन । ”
परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज दुई चरणमा राष्ट्रिय अभिलेखालयमा ल्याइएको थियो । पहिलो चरणमा कहिले ल्याइएको थियो भन्ने जानकारी नभए पनि ती अभिलेखमाथि सबैको सहजै पहुँच छ । अभिलेखालयले सुरुमा आएका १३२ थान अभिलेखलाई २०३० सालमै माइक्रोफिल्ममा संरक्षित गरिसकेको थियो । पछिल्लो चरणमा आएका अभिलेखको सूची तयार भए पनि बन्द कोठाभित्र कपडामा बेरेर राखिएको छ । सीसीटीभी जडित सो कोठाभित्र वातानुकूलित र औषधिको व्यवस्था भएकाले धुजा पर्ने, ओसिने वा कीराले खाने समस्या रहँदैन ।
प्राप्त जानकारीअनुसार नेपालले विदेशी मुलुकहरूसँग गरेका सन्धि सम्झौता, राणाकालीन विभिन्न लिखत, लालमोहर, इस्तिहार, नक्सा, पत्राचार, सिकार, भ्रमण आदिबारे दस्तावेज छन् । कतिपय नेपाली कागजमा छन् भने कतिपय देशी (चलनचल्तीका) कागजमा रहेको थाहा भएको छ ।
ती दस्तावेज बन्द कोठामा भए पनि कतिपय पहुँचवाला अनुसन्धानकर्ताले सीधै परराष्ट्र मन्त्रालय गई अध्ययनका लागि सिफारिस ल्याउने गरेका छन् । कोठाको ढोकामा लगाइएको ताल्चा खोलिदिन सोही मन्त्रालयबाट एक कर्मचारी खटिएर आउने गरेका छन् । अनुसन्धानकर्ताले आफूलाई चाहिएको सामग्री अध्ययन गरेपछि पुनः ती कर्मचारीले ताल्चा लगाई साँचो लिएर जाने गरेका छन् । वर्षमा एकाध पटक पहुँचवाला अनुसन्धानकर्ता यसरी आउने गरे पनि जोसुकैका लागि सहज छैन ।
सो मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भन्नुभयो, “अभिलेखालयलाई ती दस्तावेज हस्तान्तरण गर्न हामी सकारात्मक छौँ । त्यसका लागि प्रक्रिया सुरु गर्छौं । ”
राष्ट्रिय अभिलेखालयका निमित्त महानिर्देशक प्रधानाङ्गले ती दस्तावेज हस्तान्तरण गर्न अनुरोध गरिएको र यसबारे परराष्ट्र मन्त्रालयका पदाधिकारीसँग सकारात्मक छलफल भएको बताउँदै भन्नुभयो, “हस्तान्तरण हुन सके गोप्य दस्तावेज छनोट गरी तिनको गोपनीयता कायम गर्ने र दिन मिल्ने बाँकी दस्तावेजलाई डिजिटाइज्ड गरी सेवाग्राहीलाई अध्ययनका लागि सहज रूपमा उपलब्ध गराउँथ्यौँ । ”
उहाँले विभिन्न मन्त्रालयलगायत अन्य सरकारी निकायसँग पनि ऐतिहासिक हजारौँ दस्तावेज रहेका र ती अभिलेखालयलाई हस्तान्तरण गरिएमा आफूहरूले संरक्षण गरिदिने बताउनुभयो । अभिलेखालयमा हाल पुराना हस्तलिखित ग्रन्थ ३५ हजार, तिब्बती ग्रन्थ २० हजार, दुईवटा कोठाभरि तत्कालीन कुमारी चोक अड्डाका लिखतहरू, निजामती किताबखानाका ८०४ वटा रेकर्ड, सुरुदेखिका गोरखापत्रका अङ्कका साथै दुई लाख ग्रन्थलाई माइक्रोफिल्ममा सुरक्षित राखिएको छ ।