logo
२०८१ बैशाख ८ शनिवार



डढेलो १० वर्षयताकै उच्च

मुख्य समाचार |


डढेलो १० वर्षयताकै उच्च


चाँदनी हमाल

काठमाडौँ, चैत २५ गते । नेपालमा डढेलोले प्रकोपको रूप लिएका बेला सरकारले फायर फाइटिङ हेलिकप्टर नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ । डढेलोले दुःख गरेर संरक्षण गरिएको वन क्षेत्र विनाश गर्नुका साथै जनताको ज्यानसमेत लिन थालेकाले फायर फाइटिङ हेलिकप्टर भित्र्याउने प्रक्रिया अगाडि बढाइएको हो । फायर फाइटर हेलिकप्टरले डढेलो लागेको स्थानमै पुगेर आकाशमार्ग हुँदै आगो निभाउँछ ।
नेपाली सेनालाई जिम्मा दिने गरी हेलिकप्टर खरिद गर्ने प्रक्रिया अगाडि बढेको वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जानकारी दिनुभयो । नेपालले एन फायर फाइटिङ हेलिकप्टर ल्याउन लागेको बताउँदै उहाँले भन्नुभयो, “हरेक वर्ष डढेलोले वन विनाश बढाएको हुँदा सरकारले आफैँ हेलिकप्टर किनेर नियन्त्रणको बाटोमा अग्रसर भएको हो ।”
मन्त्री आलेका अनुसार एउटा फायर हेलिकप्टर खरिद गर्नका लागि वन मन्त्रालयले दुई अर्ब रुपियाँ बजेट सरकारसँग माग गरिसकेको छ । कुन देशबाट ल्याउँदा सहज र राम्रो आउँछ त्यस बारेमा बुझ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग परामर्श भइरहेको उहाँले बताउनुभयो ।
पहिले दुईवटा फायर फाइटिङ हेलिकप्टर ल्याउने विषयमा छलफल भएको थियो तर तत्काल नसकिने भएकाले एउटा हेलिकप्टर ल्याउन लागिएको हो । दुईवटा भएको भए राम्रो हुन्थ्यो तर नहुनुभन्दा एउटा भए पनि हुन्छ भन्नेमा सबै सरकारी निकायको एकमत रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
अत्यधिक बढेको डढेलो मानवीय प्रयासमा मात्र नियन्त्रणमा लिन कठिन भइरहेको छ । वन जोगाउनकै लागि निभाउन पुगेकाहरूको ज्यान गइरहेकाले सरकारले फायर फाइटिङ हेलिकप्टर खरिद गरेर भिœयाउन थालेको वन मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आबद्ध रहेर नियन्त्रणका लागि रणनीतिमा जुट्नुभएका डढेलो विज्ञ सुन्दर शर्मा अब नेपालमा डढेलो नियन्त्रण गर्न एरियल फायर फाइटिङमा जानुको विकल्प नरहेको बताउनुहुन्छ । डढेलोकै कारण कैयौँ मानिसको ज्यान जाने अवस्था आएकाले यो प्रविधि नेपालमा अत्यावश्यक भएको उहाँ बताउनुहुन्छ । वनको डढेलोमा मात्र हैन, कतिपय अवस्थामा गाउँ वा समुदाय नै खरानी हुने गरी मानव बस्तीमा लागेको आगो निभाउन पनि फायर फाइटर विमानको भूमिका महत्त्वपूर्ण हुने गर्छ ।
फायर फाइटर प्लेन वा हेलिकप्टर दुवै प्रविधियुक्त हुन्छ । यसले कम जनशक्तिको प्रयोगमा फराकिलो क्षेत्रमा लागेको डढेलो निभाउन सक्छ । एउटा हेलिकप्टरमा वातावरणमैत्री अर्थात् पानीले आगो निभाउने र अन्य ग्यासको सहयोगले आगो निभाउने प्रविधि जडान भएका हुन्छन् । विश्वमा विभिन्न मोडेलका फायर फाइटिङ हेलिकप्टर पाइन्छन् ।
हेलिकप्टरभित्रै तीन हजार लिटर पानी अट्ने ट्याङ्की हुन्छ । हेलिकप्टरको बाहिर हात्तीको सुँड आकारको पाइप जस्तो स्वचालित भाग हुन्छ । त्यसले नदी, तलाउ वा मानव निर्मित पोखरीमा पुगेर पानी तान्छ । भरिएपछि डढेलो लागेको स्थानको आकाशमा पुगेर पानी परे जस्तै बर्साउने गर्छ । यसरी आगो निभाउन जाँदा आगोबाट करिब सय मिटरको दूरीसम्मको तापक्रम सहन सक्ने क्षमता यस हेलिकप्टरसँग हुन्छ ।
हेलिकप्टर चलाउन प्रशिक्षण प्राप्त चालक चाहिन्छ, जुन नेपालमा उपलब्ध छैन । जसको अभावमा जसले पायो उसले हेलिकप्टर चलाउँदा दुर्घटना निम्तिने र आगो निभाउन नसकिने अवस्थासमेत आउन सक्छ । विश्वमा अफ्रिकापछि डढेलोको हब दक्षिण एसिया मानिन्छ । अझ त्यसमा पनि नेपाल डढेलोको उच्च जोखिममा रहेको विशेष मुलुक हो । विज्ञ शर्माले भन्नुभयो, “यहाँ धेरै पहाड छन्, त्यसैले वन डढेलो नियन्त्रण भारतमा जस्तो सहज छैन ।”

दस वर्षयताकै उच्च डढेलो

यस पटक नेपालमा देखिएको डढेलाको प्रकोप विगत १० वर्षयताकै उच्च रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस वर्ष एकै दिन झन्डै आठ सयवटा डढेलोका घटना रेकर्ड भएको थियो । जसअनुसार सोमबार ७९८ स्थानमा डढेलो लागेको थियो ।
वि.सं. २०६६ सालमा उच्च प्रकोपका रूपमा नेपालमा यसअघि डढेलो देखिएको थियो । त्यसपछि केही समय मत्थर बनेको थियो । देशव्यापी डढेलोमा परेर ४९ जनाले ज्यान गुमाएका थिए । २०७० सालयता फेरि नेपालमा डढेलो बढ्न थालेको हो । विज्ञ शर्माका अनुसार त्यसअघि ३७९ वटा डढेलोका घटनामा ४० जिल्ला प्रभावित बनेका थिए । २०७१ र २०७२ सालमा घटेर क्रमशः २६९ र १०७ वटा डढेलोका घटना भएका थिए ।
वि.सं. २०७३ सालमा ह्वात्तै बढेर ९८९ वटा डढेलो लागेको थियो । जसमा ६७ जिल्ला प्रभावित बनेका थिए । २०७४ सालमा ६४ जिल्ला प्रभावित हुने गरी ६१७ डढेलोका घटना भएका थिए । २०७५ सालमा ८१९ वटा डढेलोका घटनाले ६३ जिल्ला प्रभावित बन्न पुगेका थिए । २०७६ सालमा १८८ डढेलोका घटनामा ४० जिल्ला प्रभावित बनेका थिए ।
यस वर्ष वैशाखयता हालसम्म दुई हजार ७१३ वटा डढेलोका घटना रेकर्ड भएका छन् । जसमा ७३ जिल्ला प्रभावित बनेको प्राधिकरणले जनाएको छ । दस वर्षको अवधिमा सात हजारभन्दा बढी डढेलोका घटना भएका थिए । यस वर्ष डढेलो निभाउन गएका चार जनाको ज्यान गइसकेको छ । सात जना उपचाररत छन् । मङ्गलबार भने नेपालमा डढेलो लागेको स्थान केही कम भएको छ । वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएअनुसार देशका ५८४ स्थानमा डढेलो लागेको छ । डढेलोको धुवाँ फैलिँदा नेपालमा वायु प्रदूषण उच्च बनेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?