logo
२०८० चैत्र १६ शुक्रवार

सुरक्षित आरोहण र रेस्क्यू तालिममा जुटे सैनिक (फोटो फिचर)

खुला |
फोटो फिचर |


2021-03-25-34379
तस्बिर साैजन्य ः हिमालयन रेस्क्यु एशाेसियशन


छेटु शेर्पा
काठमाडौं, चैत १२ गते । हिमाल सफाइमा जाने नेपाली सेनाका टोलीलाई ग्लेसियर तालिम दिइएको छ । हिमालमा प्रयोग हुने सामाग्रीको प्रयोग गरी सुरक्षित आरोहण र रेस्क्यू दिनसक्ने गरी हिमालयन रेस्क्यु एसोसिएसनले तालिम दिएको हो ।
अन्तराष्ट्रिय मान्यता प्राप्त माउन्टेन गाइड तुल सिं गुरुङ र नरबहादुर आस्थानीले निलगिरी आधारशिविरको ग्लेसियरमा पुगेर तीन दिनसम्म तालिम दिनुभएको हो । आउने वैशाख र जेठको आरोहण सिजनमा पारेर नेपाली सेनाले सगरमाथा, ल्होत्से, पुमोरी, मकालु, आमादव्लम र धौलागिरी हिमालको अन्तिम क्याम्पसम्म पुगेर ३५ टन फोहोर संकलन गर्ने भएको छ ।
सेनाले हिमालमै पुगेर फोहोर संकलनको अनुगमन गर्ने भएपछि शैनिक अधिकृतसहित ४३ जनालाई माउन्टेनमा अपनाइने सुरक्षा र प्रयोग हुने डिभाइस सञ्चालन सम्बन्धि तालिम दिइएको हिमालयन रेस्क्यु एसोसिएसनले तालिम दिएको प्रशिक्षक गाइड तुल सिंह गुरुङले बताउनुभयो ।
सुरक्षित आरोहण कसरी गर्ने, क्रिभासमा परे कसरी बच्ने र बचाउने, शव तल कसरी ल्याउने, यसमा प्रयोग हुने सामाग्री कसरी चलाउने, हिमपहिरोबाट कसरी बच्ने जस्ता आधारभुत सुरक्षा तालिम दिएको प्रशिक्षक गुरुङले जानकारी दिनुभयो । हिमालमा प्रयोग गरिने हार्डनेस, रोप, ग्रिग्री, आइसएक्स, ज्युमर, कम्पास, क्राम्पोन लगायतका सामाग्री आधुनिक र प्रयोग गर्न सहज हुने गरी आविस्कार भएकाले तालिम लिनु पर्ने जरुरी भएको प्रशिक्षक गुरुङको बताउनुभयो ।
हिमाल सफाइ अभियानमा ६९ जना शेर्पा गाइडले फोहोर संकलन गर्ने र सैनिक टोलीले अन्तिम क्याम्पसम्म पुगेर अनुगमन गर्ने सफाइ अभियान टोलीका मेजर अदिति कार्कीले बताउनुभयो । अभियानमा आधार शिविरभन्दा माथिबाट १७ टन फोहोर संकलन गर्ने र भेटिएका शवसमेत ल्याउने लक्ष राखेकाले सेनाले थप सामग्री प्रयोगसम्बन्धी तालिम लिएको मेजर कार्कीले बताउनुभयो ।
सेनाले छ हजार मिटरभन्दा माथि आरोहण गरेका सैनिकलाई सफाइ अभियानमा खटाउने गरी तालिम दिएको जनाएको छ । टोलीमा चिकित्सक सहित मेडिकल समूह र सञ्चार समूह रहनेछन् । सफाइका लागि वन तथा वातावरण मन्त्रालयले यस वर्ष १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।