logo
२०८१ बैशाख ८ शनिवार



बालबालिकामा डिप्रेसनको समस्या

खुला |


बालबालिकामा डिप्रेसनको समस्या



यलु जोशी

काठमाडौँ, चैत १२ गते । आफ्ना बालबालिकाको आनीबानीमा अस्वाभाविक परिवर्तन भएको महसुस गर्नुभएको छ ? उनीहरूमा यस्तो समस्या देख्नुभएको छ भने ‘डिप्रेसन’को सिकार
भएको हुनसक्नेप्रति हेक्का राख्नुहोला ।
डिप्रेसन (मानसिक रोग)को समस्या वयस्कलाई मात्र हुन्छ भन्ने सोच्नु गलत हो । बालबालिकामा पनि डिप्रेसनको समस्या देखिनसक्ने बालमनोविद्हरू बताउँछन् ।
बालमनोविद् गङ्गा पाठकले भन्नुभयो, “चिन्ता बच्चालाई पनि हुन्छ । डिप्रेसनको समस्या उनीहरूमा पनि देखिन सक्छ । अझ अहिलेको अवस्थामा बालबालिका यसको बढी जोखिममा छन् । ”
उहाँका अनुसार डिप्रेसन हुनुको एउटै कारण हुँदैन । एकल पारिवारिक संरचनादेखि विद्यालयको व्यवहारले समेत उनीहरूलाई यस खाले जोखिममा पारिरहेको हुन्छ । पढाइको बोझ, अभिभावकको अपेक्षालगायतका कारण कम उमेरमा पनि डिप्रेसन देखिएको पाठकको अनुभव छ ।
“डिप्रेसन भए पनि बालबालिकामा अस्वाभाविक परिवर्तन देखिन थाल्छ । एकोहोरो हुने, जिद्दी गर्ने, खाना खान मन नगर्ने र कहिले धेरै खाने, कहिले एक्कासि रमाउने, कहिले रिसाउने, झर्कने गर्छन्”, उहाँले
भन्नुभयो ।
बालबालिकाको स्वभाव चञ्चल र जिज्ञासु हुन्छ । उनीहरू सानो कुरामा खुसी हुन्छन् र दुःखी पनि हुन्छन् । सुख, दुःख सबै कुरा खुलेर व्यक्त गर्छन् तर जब बच्चालाई डिप्रेसन हुन्छ उनीहरूमा यस्ता स्वाभाविक प्रतिक्रिया नदेखिने र लामो समयसम्म उदास रहने पाठकले प्रस्ट पार्नुभयो । अभिभावकले आफ्ना बालबालिकाको बानीबेहोरा, क्षमता, रुचि र इच्छा नबुझी उनीहरूमाथि आफ्नो विचार लाद्ने गर्छन् । यसले गर्दा बच्चामा तनाव, चिन्ता बढ्न गई डिप्रेसनको रूप लिन्छ ।
पाटन अस्पतालका मनोचिकित्सक डा. रवि शाक्यले बालबालिकामा डिप्रेसनको समस्या भएमा अभिभावकले मुख्य भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो । उहाँले कुनै पनि काम जबरजस्ती गर्न लगाउनु हुँदैन भन्दै थप्नुभयो, “विद्यालय वा गृहकार्यका कारण उनीहरू चिन्तित छन् भने त्यसको समाधान खोज्नुपर्छ । अहिलेका विद्यालयले बालबालिकाको अवस्थाअनुरूप सही ढङ्गले परामर्श दिने वा व्यवहार गर्ने गरेको पाइँदैन । बालबालिकाले विद्यालयमा त्यस्तो व्यवहार देखाए वा विद्यालयको वातावरण नै त्यस्तो खाले छ भने विद्यालयमा बच्चालाई पठाउनु भनेको थप सङ्कट निम्त्याउनु हो । ”
बच्चालाई सकेसम्म प्रकृतिको नजिक लैजाने, खेल्न र रमाउन दिनुपर्ने सुझाव दिँदै उहाँले सकारात्मक कुरा सिकाउने वा योग एवं प्राणायाम विधिमा अभ्यस्त गराउनुपर्ने जानकारी दिनुभयो ।
बालमनोविद् तारा अधिकारीले बालबालिकालाई मानसिक समस्यामा पनि ठूलाबडाको जस्तै उपचार गर्नुपर्छ भन्दै उनीहरूका लागि परामर्श, थेरापी र परिवारको सहयोग आवश्यक हुने सुझाव दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?