logo
२०८० चैत्र १६ शुक्रवार



पशुपतिको सन्ध्याकालीन आरतीमा युवा मोह बढ्दै

खुला |


पशुपतिको सन्ध्याकालीन आरतीमा युवा मोह बढ्दै


यलु जोशी

काठमाडौँ, फागुन १८ गते । पशुपतिनाथ परिसरमा हरेक साँझ हुने आरतीमा युवापुस्ता मग्न हुनेदेखि ध्यान (मेडिटेसन) गर्नेहरूको भीड लाग्ने गरेको पाइएको छ । पीडा समस्या भुल्न तथा मनमा आनन्दका लागि हिन्दु धर्मका साथै बुद्ध, क्रिस्चियन धर्मावलम्बी युवावर्ग बेलुका पशुपति बागमती किनारामा पुग्ने गरेका छन् ।
दुःखी सुख र सुखी अझ सुख खोज्न आउने ठाउँ पशुपतिनाथको मन्दिर भएकोमा २२ वर्र्षीय अनुप नेपाली भन्नुहुन्छ, ‘‘हप्ताको एक पटक भए पनि मनमा शान्ति हुने अपेक्षा गर्दै सन्ध्या आरतीमा आउँछु । यहाँ आउँदा सानो ठूलो जातको कुरा हुँदैन । आरतीको सुमधुर धुनसँगै गरिने मेडिटेसनले सबै हराउँछ । ’’
अझ शिव ताण्डव स्तोत्र सुन्दा फरक मान्छे हुने धारणा व्यक्त गर्दै नेपालीले महादेव स्वयं आई अन्तरआत्मामा बास गरेजस्तो हुन्छ, नाचौँ–नाचौँ, उफ्रौँ–उफ्रौँ हुने गरेको अनुभव उहाँ सुनाउनुहुन्छ ।
शिव तान्डवमा नाचेर मग्न हुनुभएकी तेस्रो लिङ्गी अनिता गुरुङले भन्नुभयो, ‘‘पशुपति मन्दिरमा हुने बागमती गङ्गा सन्ध्या आरतीमा आउन पाउँदा भित्री आत्माबाट नै छुट्टै ऊर्जा निस्केको महसुस हुन्छ । ’’ उहाँले थप्नुभयो, ‘‘आरतीमा गएर भजन सुनेपछि समग्रमा अन्तरआत्मा र अन्तरमनमा शान्तिको अनुभव हुन्छ । मनको बेचैनी र छटपटाहटले घेरिरहेका बेला मनमा शान्ति र सन्तोष मिलोस् भनेर आउने र नाँच्ने गरेको छु । ’’
सन्ध्या आरतीको आयोजना गर्दै आउनुभएका समाजसेवी सुर्वण वैद्यले मनमा शान्तिका लागि अहिले युवामा आरतीको मोह बढेको जानकारी दिनुभयो । भगवान् पशुपति नाथले लोकको कल्याण तथा सबैको खुसीका लािग आरती गरिरहेको उहाँले जानकारी दिनभयो ।
चिकित्सक डा. अरुणा श्रेष्ठ भन्नुहुन्छ, ‘‘पशुपतिको आरतीले मलाई योग विज्ञानको पनि अनुभूति दिलाउँछ, जुन बुझ्नुभन्दा बढी महसुस र अनुभव गर्ने कुरा हो । ’’
महिनामा दुई पटक भए पनि आरतीमा सहभागी हुने जानकारी दिँदै हिन्दु धर्मशास्त्रमा शिवलाई शक्तिशाली भगवान्का रूपमा चित्रित गरिएको र पशुपतिले जन्म–मृत्यु र त्यसभन्दा परको जीवनलाई समेत देखाएको डा. श्रेष्ठले बताउनुभयो । भजनका शब्द र सङ्गीतमा यसरी डुब्दै गएको उहाँले जानकारी दिनुभयो । आफ्ना समस्या, पीडाहरू कहाँ–कहाँ हराए जस्तो लाग्यो भन्दै थप्नुभयो, ‘‘मूर्तिबाट भन्दा पनि सङ्गीतको माध्यमबाट भगवान् नजिक चाँडै पुग्न सकिँदो रहेछ भन्ने महसुस हुन्छ । ’’
करिब एक घन्टा पशुपतिनाथ मन्दिर पछाडि विशेष चहलपहल हुन्छ । पशुपति आसपासका मात्र नभई उपत्यकाका अन्य विभिन्न ठाउँका मानिस पनि साँझमा पशुपति पुगेर भजन र आरतीमा मुग्ध हुन्छन् । योगगुरु सागरमान श्रेष्ठ भन्नुहुन्छ, ‘‘योगसँगै सङ्गीत पनि आवश्यक पर्छ, सङ्गीतले मष्तिस्कमा केन्द्रित हुन मद्दत गर्छ भने योगले ज्ञानन्द्रेयीलाई चलायमान बनाउँछ । ’’ 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?