logo
२०८० चैत्र १६ शुक्रवार



प्लास्टिक र पाउरोटी बेचेर बनाएको ‘क्यरियर’

अर्थ |


प्लास्टिक र पाउरोटी बेचेर बनाएको ‘क्यरियर’


सुरेशकुमार यादव

काठमाडौँ, फागुन १४ गते । नेपाली खानालाई विश्वमा चिनाउने सेफ सन्तोष साह नेपाल आउनु भएको छ । बीबीसी मास्टर सेफ यूकेको उत्कृष्ट तीनमा पर्न सफल नेपाली सेफ साह स्वदेश आउँदा उहाँको भव्य स्वागत भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरूले स्वागत गरेका थिए । ती संस्थाले उहाँलाई विमानस्थलमा पञ्चेबाजा बजाएर स्वागत गरेका थिए ।
उहाँले आफ्नो एक मात्र ‘मिसन’ नेपाली खानालाई विश्वमा उत्कृष्ट खानाको रूपमा परिचित गराउने रहेको बताउनुभयो । नेपाली खानाका लागि थुप्रै काम गरिरहेको बताउँदै उहाँले नेपाली खानालाई विश्वमा चिनाउन आफूले ‘फुड म्याप’ तयार गरेको र त्यहीअनुसार विश्वमा नेपाली खानालाई लैजाने आफ्नो योजना रहेको बताउनुभयो ।
नेपाली खानबारे आफूले पाँचवटा भाषामा किताब लेखिरहेको र त्यो एक लाखप्रति छापिने जनाउँदै त्यसैको सिलसिलामा पनि आफू नेपाल आएको जानकारी उहाँले दिनुभयो । सेफ साहले नेपाली खानालाई विश्वमा चिनाउन पाएकोमा गर्व लागेको बताउनुभयो । आफू बाल्यकालमा प्लास्टिकको झोला र पाउरोटी बेचेर खुसी भएजस्तै आज पनि त्यतिकै खुसी रहेको बताउनुभयो । उहाँले मिहिनेत गरेपछि मानिसलाई जेमा पनि सफलता पाउन सक्छ र आफू पनि मिहिनेतले नै यो सफलता प्राप्त भएको बताउनुभयो । नेपालमा रहँदा सेफ साह प्यासिफिक एसिया ट्राभल एसोसिएसनको कार्यक्रममा मुख्य वक्ताका रूपमा सहभागी हुनुहुनेछ । सो कार्यक्रममा उहाँलाई पाटा पर्सनालिटी अफ द इयरले सम्मानित गरिने बताइएको छ ।
नेपालमा दुई महिनासम्म बस्ने उहाँको योजना छ । नेपाल बसाइका क्रममा नेपाली खानाबारे आफूले थप अध्ययन गर्ने, विभिन्न ठाउँमा घुमेर खानाका परिकारबारे जानकारी लिने र किताब लेख्ने योजना सुनाउँदै भन्नुभयो, ‘गाउँमा सबभन्दा प्रिय मेरी आमा हुनुहुन्छ, उहाँलाई भेट्न जान्छु । ’ उहाँ केही दिन काठमाडौँमा क्वारेन्टाइनमा बसेर मात्र गाउँ जानुहुनेछ ।
सिरहा कर्जन्हाका निवासी सन्तोष साह पाँच वर्षका हुँदा उहाँका बुवाको निधन भएको थियो । त्यही बेलादेखि सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा आयो । उहाँका चार दाजु भए पनि सबै बाहिर बस्नु हुन्थ्यो । त्यतिबेला आमाको जिम्मा त्यही बालक सन्तोषको जिम्मा छाड्नुभएको थियो । नेपालमा रहँदा जीवन निर्वाहका लागि स्थानीय हाट बजारमा प्लास्टिकका झोला र पाउरोटी बेच्ने काम गर्नुहुन्थ्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?