logo
२०८१ बैशाख ७ शुक्रवार



इच्छाशक्तिकै भरमा अब्बल सिर्जना

खुला |


इच्छाशक्तिकै भरमा अब्बल सिर्जना


शिवा तामाङ

काठमाडौँ, फागुन १० गते । कागजबाट बनेका शङ्ख, गितार र बाँसुरीबाट मधुर धुन निस्कने कुरा झट्ट सुन्दा पत्याउन गाह्रो हुन्छ । हेर्दा सो पिस जस्तो लाग्ने, उचाल्दा हलुका ती बाजा सोह्रखुट्टे निवासी गुणराज पौडेलले तयार पार्नुभएको हो ।
उहाँले लामो समयदेखि बनाएका थुप्रै सामग्री नेपाली शिक्षा परिषद्को भवनमा थुप्रिएका छन् । ती सामग्री राख्ने स्थानकै अभावमा नष्ट हुने अवस्था आएको उहाँँको गुनासो छ ।
नक्सालस्थित नन्दीरात्रि स्कुलमा कक्षा ५ सम्म अध्ययन गर्नुुभएका पौडेलले कामबाट फुर्सद मिलेपछि कागजलाई पुनः प्रयोग गरी त्यस्ता सामग्री बनाउँदै आएको २० वर्ष भएको छ । साहित्यमा रुचि राख्ने पौडेलले कागजको पुनः प्रयोग गरी बाजागाजाका साथै साहित्यकार, गायकलगायत पौराणिक पात्रको पनि मूर्ति तयार पार्नुभएको छ । उहाँले कागजबाट महादेव, विष्णु, गौतम बुद्ध, लेखनाथ पौड्यालको मूर्ति बनाउनुभएको छ ।
त्यसैगरी आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, विश्वका चर्चित व्यक्तिहरू सिग्मन्ड फ्रायड र बब मार्लीका अर्धकदका मूर्ति पनि बन्दै गरेको र विस्तारै त्यसलाई पूर्ण रूप दिने पौडेलले जानकारी दिनुभयो ।
उहाँले पाँचमुखे र एकमुखे शङ्ख, दुईतिरबाट बजाउन मिल्ने बाँसुरी, नेपालबाट लोप हुने अवस्थामा रहेका ढिकी, जाँतो, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहित झन्डा पनि बनाउनुभएको छ । सामाजिक सञ्जालहरू युट्युब च्यानल र फेसबुकको लोगो पनि कागजबाटै बनेका छन् ।
स्वअध्ययन र अनुसन्धानकै भरमा विगत २० वर्षदेखि गरिरहेको कामलाई हस्तकला उद्योगसँग जोडेर आय आर्जनको माध्यम बनाउन सहयोगको अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।
चित्र वा मूर्ति बनाउने तालिम नलिएका पौडेलले आफ्नै इच्छाशक्तिका भरमा काम गरिरहेको र यस कामको प्रवद्र्धनका लागि सरकारी निकायमा जानकारी गराए पनि कतैबाट हौसला वा सहयोग नपाएको बताउनुभयो ।
आफूले बनाएका सामग्री आर्थिक अभावका कारण प्रदर्शनीमा पनि राख्न नसकेको जानकारी दिँदै उहाँले मूर्तिलगायत सबै सामग्री राख्ने निश्चित स्थानको खोजीमा छु भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?