logo
२०८० चैत्र १५ बिहीवार



म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी

अन्तर्राष्ट्रिय |


म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी
तस्विर–फाइल


याङ्गुन, माघ २८ गते।
म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी समूहहरूका अनुसार घाइते भएका ती महिलाको टाउकोमा गोली लागेको छ ।

प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू घाइते भएका विवरणहरू प्राप्त भएका छन । तर कसैको मृत्यु भएको छैन। बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको र राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन ।

यसैबीच म्यान्मारको सेनाले नेत्री आङ सान सुकीको पार्टी नेसनल लीग फर डेमोक्रेसीको याङ्गुनस्थित मुख्य कार्यालयमा छापा मारेर तहसनहस पारिदिएको उक्त दलले दाबी गरेको छ । मङ्गलवार राति सुरक्षाकर्मीहरू उक्त कार्यालयको ढोका फोरेर भित्र छिरेर तहसनहस गरेको जानकारी दिइएको छ । पार्टीको कार्यालय तहसनहस पारिदिएको यस अवस्थामा कोही कार्यकर्ता भने नभएका जनाइएको छ ।
सेनाले जारी गरेको रात्रिकालीन कफ्र्यूका बेला छापा मारेको बताइएको छ । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभरि निशेधाज्ञा लागु गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?