logo
२०८० चैत्र १६ शुक्रवार

  प्रधानमन्त्री कप क्रिकेट  



एपीएफ र आर्मी भिड्दै, सन्तुलित प्रदर्शनको अपेक्षा

पढ्नै पर्ने |
खेलकुद |


एपीएफ र आर्मी भिड्दै, सन्तुलित प्रदर्शनको अपेक्षा


इश्वरचन्द्र झा
काठमाडौं, माघ १६ गते । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७७ को उपाधिका शनिबार सशस्त्र प्रहरी बल(एपीएफ) र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । विभागीय दुबै टोलि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा शनिबार उपाधिका लागि स्पर्धा गर्दैछ । लिग चरणमा दुबै टोलि एक अर्का विरुद्ध खेलिसकेकोले दुबै टोलिको बलियो र कमजोर पक्ष एक अर्कालाई राम्ररी जानकारी छ । आर्मीको नेतृत्व बिनोद भण्डारीले गर्नुभएको छ । शरद् भेषवकारले एपीएफको नेतृत्व गर्ने हुनुभएको छ ।
फाइनल अघिको पत्रकार सम्मेलनमा एपीएफका कप्तान शरद भेषवकारले फाइनलसम्म पुग्नु एपीएफका लागि ठूलो उपलब्धी भएको र यसलाई निरन्तरता दिइ फाइनलमा राम्रो परिणाम दिने बताउनुभएको छ । एपीएफ जहिले पनि राम्रो प्रदर्शन गर्न भोको रहेकोले फाइनलमा समेत समग्र टोलिको प्रदर्शन सन्तुलित रहने विश्वास ब्यक्त गर्नुभएको छ ।
आर्मीका कप्तान बिनोद भण्डारीले पछिल्लो संस्करणको नतिजाले भोलिको खेल प्रभाबित नहुने बताउनुभयो । उहाँले आवश्यक पर्दा संकट टार्ने क्षमताका खेलाडी पर्याप्त रहेकोले भोलिको खेलमा आर्मीले उपाधि जित्न प्रयत्नशील रहने विश्वास ब्यक्त गर्नुभयो ।
एपीएफले पहिलो सेमीफाइनल खेलमा अर्का विभागीय टोलि नेपाल पुलिसलाई हराएर फाइनलको यात्रा गरेको हो । त्रिभुवन आर्मीले भने बागमती प्रदेशलाई हराएर एपीएफसँगको भेट सुनिश्चित गरेको छ । दुबै टोलिले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको छ । एपीएफ समग्र टोलिको सन्तुलित प्रदर्शनले फाइनलसम्मको यात्रा सुनिश्चित गरेको हो । आवश्यक परेको बेला कुनै न कुनै खेलाडी संकट मोचकको रुपमा उभिएर आर्मीलाई उद्धार गरी फाइनलसम्म ल्याइ पुर्याएको छ ।
एपीएफले लिग चरणको सबै चार वटै खेल जितेर समूह ए को विजेता भएर सेमीफाइनल पुगेको थियो भने आर्मी समूहको उपविजेता भएर सेमीफाइनलको यात्रा तय गर्न पुगेको थियो । लिग चरणमा दुबै टोली समूह ए मै रहेको थियो ।
आर्मी र एपीएफको पछिल्लो तीन भेट
त्रिभुवन आर्मी र एपीएफ दुबै बिभागीय टोलिले हालसम्म तीन पटक एक अर्का विरुद्ध उत्रिएको छ । एपीएफले पछिल्लो दुई खेल जितेको छ । लिग चरणको पछिल्लो खेल जितेको एपीएफले त्यसअघि २०७५ को जेठ महिनामा आर्मीलाई छ विकेटले हराएको थियो । आर्मी र एपीएफ पहिलो पटक २०७५ को जेठमै स्पर्धा गरेको थियो । पहिलो भेटमा आर्मीले एपीएफलाई ७० रनको फराकिलो अन्तरले हराएको थियो ।
प्रधानमन्त्री कपको जारी संस्करणको लिग चरणमा आर्मी र एपीएफबीच स्पर्धा हुँदा एपीएफले आर्मीमाथि छ रनको झिनो अन्तरको जित हात पारेको थियो । २४१ रनको लक्ष्य पछ्याएको आर्मीले पुरै ५० ओभर खेलेपनि आठ विकेटको क्षतिमा २३४ रन मात्रै जोडन सफल भयो । मध्यक्रममा कप्तान बिनोद र हरि चौहान अतिरिक्त आर्मीलाई उक्त योगफलसम्म पुर्याउन सबै ब्याट्सम्यानले योगदान दिएका थिए ।
आठौं नम्बरका आकाश चन्दले १६ र नवौं नम्बरका ब्याट्सम्यान सहाब आलमले अविजित २० रनको योगदान दिदा दिदै जितका लागि अपर्याप्त भयो । एपीएफसँग हार बेहोरेपनि उक्त खेल आर्मीको ब्याटिङको ‘स्ट्रेन्थ’ देखाउन पर्याप्त हो । आर्मीलाई हराउन एपीएफका कमलसिंह ऐरीले तीन र भुवन कार्कीले दुई विकेट लिनुका साथै कसिलो बलिङ गरेर महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।
एपीएफ भने ४९ ओभर ४ बलमा २४० रनमा समेटिएको थियो ।
कप्तानको प्रदर्शन
दुबै टोलिका कप्तानले राष्ट्रिय टोलिको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भइसकेका छन् । मिजासिलो स्वभाबका शरद् संयमित पारीका लागि चिनिन्छन् । प्रधानमन्त्री कपमा उहाँले अझै कप्तानको पारी खेल्न बाँकी नै छ । पाँच खेलमा उहाँले मात्र ८८ रन बनाउनुभएको छ । लिग चरणमा आर्मी विरुद्ध बनाएको २४ रन नै उहाँको ब्यक्तिगत् उच्च पारी हो । बलिङमा उहाँले छ विकेट लिनुभएको छ ।
बिनोद विष्फोटक पारीका लागि चिनिन्छ । लिग चरणमा गण्डकी विरुद्ध १११ रनको अविजित पारी खेलेर बिनोदले कप्तानको पारी खेल्नुभएको थियो । तर पछिल्लो तीन खेलमा उहाँको प्रदर्शन निराशाजनक देखिएको छ । एपीएफ विरुद्ध बिनोद शून्य रनमा आउट हुनुभयो । बिनोदले एपीएफ विरुद्धको फाइनलमा समेत गण्डकी विरुद्धकै प्रदर्शनको निरन्तरताको अपेक्षा गरिएको छ ।
हेर्नुपर्ने खेलाडी
एपीएफका ओपनर आसिफ शेषले प्रतियोगितामा औसत प्रदर्शन गर्नुभएको छ । चार खेलमा उहाँले १३५ रन बनाउनुभएको छ । जसमा दुई अद्र्धशतक सामेल छन् । अर्का ओपनर सुभाष खकुरेल, सन्दीप जोरा, कप्तान शरद भेषवकार तथा अलराउण्डर भुवन कार्कीमा एपीएफको ब्याटिंग आश्रित रहनेछन् । भुवनले प्रतियोगितामा आठ विकेट समेत लिनुभएको छ । कमल सिंह ऐरीले नौ विकेट लिनुभएको छ । तीब्र गतिका बलर किशोर महतोले पाँच विकेट लिएपनि प्रभावकारी प्रदर्शन गर्नुभएको छैन् । बसन्त रेग्मीको अनुभव एपीएफका लागि फलदायी हुने विश्वास गरिएको छ ।
आर्मीको ब्याटिङ ओपनर ब्याट्सम्यान अनिलकुमार मण्डल, कप्तान बिनोद भण्डारी र मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेलमाथि आश्रित रहनेछन् । यद्दपी प्रतियोगितामा रोहितको ब्याट हालसम्म चलेको छैन् । भिम सार्की र बिक्रम सोबले आवश्यक परेको बेला आर्मीलाई उद्धार गर्नुभएको छ । राजेश पुलामीले नेपाल पुलिस विरुद्ध उत्कृष्ट पारी खेल्दा आर्मी फाइनलसम्मको यात्रा तय गर्न सकेको हो ।
एपीएफ विरुद्धको लिग खेलमा अबसर पाउनुभएका आकाश चन्दलाई फाइनलमा जितेन्द्र मुखियाले बिस्थापित गर्नुहुनेछ । शहाब आलम ब्याटिंग गर्न सक्ने क्षमता राखेकोले पनि टोलिमा अटाउने सम्भावना बढ्दो छ ।
लिगमा जित हात पारेकोले फाइनलमा आर्मी विरुद्ध उत्रिदा एपीएफको आत्मविश्वास उच्च देखिनेछ । आर्मीले भने लिग चरणमा बेहोरेको हारको बदला लिने यसभन्दा उपयुक्त अबसर पाउने छैन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?