logo
२०८० चैत्र १६ शुक्रवार



बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने

प्रदेश |


बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
फाइल तस्बीर


गलकोट, माघ १४ गते । बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने १७ अझै बेपत्ता छन् । यस्तै २२९ घरमा पूर्णरूपमा क्षति भएको छ भने २० घरमा आंशिक क्षति भएको छ ।

बागलुङमा ५९० घर जोखिममा परी विस्थापित भएको भन्दै पुनःनिर्माण गर्न आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोले क्षति पुर्याएको, भासिएको, पहिरोले पुरेको र चर्केको गरेर ५९० घर पुनःनिर्माणका लागि विपद् व्यवस्थापन समितिमा स्थानीय तहले सिफारिस गरेका हुन् । साउनयता बाढीपहिरोबाट ३५ र चट्याङबाट दुई जनाको मृत्यु भएको थियो भने बाढी पहिरोमा अझै १७ हराइरहेका छन् । समितिले बाढी पहिरोमा बेपत्ता १७ जनालाई मृत्युसरह राहत उपलब्ध गराएको जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बागलुङमा साउनयता घटेका विपद्का घटनामा रु एक करोड ३७ लाख ७५ हजार राहत रकम हस्तान्तरण गरिसकेको जनाएको छ । सोमध्ये सङ्घीय सरकारबाट प्राप्त रु ९० लाख राहत वितरण गरेको र पूर्ण क्षति भएको २२९ घरलाई रु १८ लाख ८२ हजार ५०० राहत रकम हस्तान्तरण गरिसकिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बेपत्ता भएका १७ जनाको परिवारलाई  अहिलेसम्म बाढी पहिरोमा खोजतलास गर्दा फेला नपरेका कारण गृह मन्त्रालयको निर्देशनानुसार मृत्युसमान राहत रकम हस्तान्तरण गरेको बताउनुभयो । यस्तै गण्डकी प्रदेश सरकारले  मृत्यु भएका ३७ र बेपत्ता भएका १७ जनाको परिवारलाई जम्मा रु २७ लाख ५० हजार रकम प्रदान गरिसकेको छ । यस्तै आंशिकरूपमा क्षति भएका २० घरलाई प्रदेश सरकारले रु १० हजारका दरले रु दुई लाख राहत वितरण गरेको छ ।

विपद् व्यवस्थापन समितिले बाढी पहिरोका कारण घरबास गुमेकाहरु अहिले आफन्त, विद्यालय तथा सामुदायिक भवनमा आश्रय लिएर बसेको जनाएको छ । विपद्बाट साउनयता जिल्लाका १० वटै पालिकामा ५९० घरपरिवार विस्थापित भएको र उनीहरुको घर पुनःनिर्माण गर्न पारित गरी गृह मन्त्रालय पठाइसकेको प्रमुख जिल्ला अधिकारी न्यौपाने बताउनुभयो । गृह मन्त्रालयले बागलुङलाई सङ्कटग्रस्त क्षेत्रका रूपमा घोषणा गरी पुनःनिर्माणको काम थाल्न लागेको छ । बागलुङमा साउनयता घटेका विपद्का घटनामध्ये ढोरपाटनमा सबैभन्दा बढीको मृत्यु भएको थियो । ढोरपाटनको भूजीखोलामा आएको बाढीमा मात्रै २२ जनाको मृत्यु भएको थियो भने १६ बेपत्ता भएका थिए । यस्तै तमानखोला, निसीखोला र जैमिनी नगरपालिकासहित समग्र जिल्लामा विपद्का घटनामा वृद्धि भएका थिए ।

बाढी पहिरोका कारण घर, गोठ, विद्यालय, खेलमैदान, खानेपानी, खेतीयोग्य जमिन जोखिममा रहेकालाई स्थानीय तहबाट आएको सिफारिसका आधारमा विपद् व्यवस्थापन समिति, आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेश, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङ, भू तथा जलाधार कार्यालय पर्वतमा पुनःनिर्माण, पुनःस्थापना, मर्मतसम्भार तथा ग्याविन तारजालीका लागि सिफारिस गरिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?