logo
२०८० चैत्र १५ बिहीवार



ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

प्रदेश |


ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते


सप्तरी, माघ ९ गते । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्र्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्र्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् ।

शरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ । ट्र्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको सप्तरीको रूपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा राखिएको छ ।

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा बिहीबार भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छिम्केश्वरी आँबुखैरेनी सडकखण्डअन्तर्गत छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१त ३७७० नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको मृत्यु भएको हो ।

दुर्घटनामा परी आँबुखैरेनी गाउँपालिका–३ का लीलाबहादुर यादी घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो । ट्र्याक्टर चालक गोरखा नगरपालिका–१४ का तीर्थ थापा प्रहरी नियन्त्रणमा छन् । छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ ढुङ्गा लिन आउँदै गरेको ट्र्याक्टर सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?