logo
२०८० चैत्र १५ बिहीवार



चौधरी भए लगातार २६ औं पटक धनगढी गाउँका भलमन्सा

खुला |
समाज |


चौधरी भए लगातार २६ औं पटक धनगढी गाउँका भलमन्सा
लगातार २६ औं पटक भलमन्सा बन्नु भएका सरोजकुमार चौधरी (दायाँ) र उहाँको सहयोगी ।



अविनाश चौधरी
धनगढी, माघ ४ गते । कैलालीका सरोजकुमार चौधरीले लगातार २६ औं पटक भलमन्साको जिम्मेवारी प्राप्त गर्नु भएको छ ।
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँवासीले उहाँलाई पुनः भलमन्साको जिम्मेवारी दिएका हुन । चौधरीले २०५२ सालदेखि लगातार गाउँमा भलमन्साको भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
थारु समुदायमा माघी पर्वसँगै भलमन्सा चयनको कार्य सुरु हुने गर्दछ । भलमन्साको पदावधि एक वर्षको हुन्छ । तर, राम्रो काम गर्नेलाई गाउँवासीले पुनः जिम्मेवारी सुम्पिने गरेका छन् ।
धनगढीमा आफ्नो परिवारले तीन पुस्तादेखि भलमन्साको भूमिका निर्वाह गर्दै आएको चौधरीले बताउनुभयो । ‘मेरो बाजे र बुबाले पनि आफ्नो जीवन रहेसम्म गाउँको भलमन्सा भएर काम गर्नुभयो’, उहाँले भन्नुभयो । ‘२०५२ साल पुसमा बुबाको स्वर्गारोहणपछि त्यो भूमिकामा लगातार म छु ।’
धनगढी गाउँ धनगढीको सबैभन्दा पुरानो बस्ती रहेको बताइन्छ । सो गाउँमा भलमन्सा प्रथालाई स्वीकार गर्ने ४५ घरपरिवार रहेका छन् । गाउँमा रहेको राना थारु समुदायको भलमन्सा भने छुट्टै व्यक्ति रहने गरेका छन् । पुरानो बसोबास रहेको ४५ घरपरिवारको मात्रै आफूले नेतृत्व गर्ने गरेको चौधरीले बताउनुभयो ।
लगातार भलमन्साको भूमिका निर्वाह गर्दै आउनु भएका चौधरी व्यवसायी पनि हुनुहुन्छ । आफूले व्यवसाय गर्ने गरेका कारण गाउँ समाजलाई अब धेरै समय दिन नसक्ने भन्दै आए पनि गाउँवासीले जहिल्यै सर्वसम्मतिले आफूलाई भलमन्सा बनाउने गरेको चौधरीले बताउनुभयो ।
‘खोज्नीबोज्नीको दिन म हरेक वर्ष कोही इच्छुक भए जिम्मेवारी लिनका लागि आग्रह गर्ने गर्दछु’, उहाँले भन्नुभयो । ‘तर, जहिल्यै मलाई नै फेरि भलमन्सा बनाइन्छ । म त गाउँको स्थायी भलमन्सा जस्तै भइसकेँ ।’
भलमन्सा प्रथा प्रजातान्त्रिक अभ्यास रहेको बताइन्छ । यो पदमा गाउँका जो कोही पनि बस्न सक्ने सम्भावना रहने गर्दछ । गाउँवासीको मन जित्ने गरी काम गर्न नसक्ने भलमन्सालाई एक वर्षमै सम्मानका साथै विदाई गर्ने गरिन्छ । सम्भवतः आफूले काम गरेर गाउँ समाजको मन जितेकाले लगातार एउटै जिम्मेवारी पाउने गरेको चौधरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?