logo
२०८१ बैशाख ५ बुधवार

  राष्ट्रिय योग दिवस  



 विश्वमा दैनिक तीन करोडले योग गर्छन्

पढ्नै पर्ने |


 विश्वमा दैनिक तीन करोडले योग गर्छन्
प्रम निवासमा आयाेजित याेग कार्यक्रम


काठमाडाैं, माघ १ गते । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी हुनुहुन्छ । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियाे ।    
    
कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराउनुभएको थियो । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताउनुभयो । योगगुरु डा हरिप्रसाद पोखरेलले नेपालले नेपाल योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा भारतले भन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने बताउनुभयो । नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ ।    
    
दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सन्देश दिँदै कोभिड–१९ को प्रकोपबारे प्रमाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताउनुभएको थियो ।  यसैबीच विराटनगरमा  ‘योग गरौँ डटेर, कोभिड जान्छ हटेर’ प्रमुख नाराका साथ छैटौँ राष्ट्रिय योग दिवस–२०७७  मनाइएको छ । मानिसको जीवन शैलीलाई व्यवस्थापन गर्न महत्वपूर्ण योग नियमित गर्नुपर्ने योगगुरुहरु बताउँछन् । योगले मानिसलाई निरोग मात्र नभई दीर्घजीवी पनि बनाउने योग गुरुको भनाइ छ । सम्पूर्ण ब्रह्माण्डको ऊर्जा पृथ्वीतिर केन्द्रित भएका समयमा योग गर्न सकेमा मानिसको जीवन पद्धतिमा परिवर्तन आउने र यसका माध्यमबाट धेरै कुरामा सुधार आउने बताइएको छ ।
आज यहाँ आयोजित योगाभ्यासमा सहभागी जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले निःशुल्क उपचार गर्ने पद्धति योगलाई जीवनमा उतार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ योग गर्दा मेरो शरीर फूर्तिलो भएको छ, कुनै पनि रोग लागेको छैन ।” मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले योग नियमित बनाउन सके व्यस्त जीवनलाई सहज एवं सरल बनाउन सकिनेमा जोड दिनुभयो ।
सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादवले व्यस्त मानिसका लागि योग निकै लाभदायी हुने बताउनुभयो । जिल्ला आयुर्वेद केन्द्र मोरङका प्रमुख नेत्रबहादुर बस्नेतले योग र आयुर्वेद आपसमा जोडिएको र योगबाट धेरै बिरामीको उपचार हुने जानकारी दिनुभयो । जिल्ला आयुर्वेद केन्द्र सुनसरीका डा मुकेशकुमार सिंहले योगले क्रोध शान्त बनाउने बताउनुभयो । योगाभ्यासमा सहभागी चन्द्रकिशोर विश्वास र विनिता रेग्मीले योग गर्दा शुरुमा अप्ठ्यारो भए पनि पछि सहज हुने र यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने अनुभव सुनाउनुभयोे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?