logo
२०८० चैत्र १६ शुक्रवार



तेलको भाउ बढाउन चलखेल

पुरानो अधिकतम मूल्य (एमआरपी) काटेर बढेको नयाँ मूल्य प्रिन्ट गरी बजारमा

अर्थ |
फिचर |


तेलको भाउ बढाउन चलखेल


सीता शर्मा

काठमाडौँ, पुस १६ गते । कोरोनाका कारण काम दाम गुमाएका उपभोक्ताले महँगीको मार मात्रै खेपेका छैनन्, महँगो मूल्य तिर्न तयार हुँदा सामान नै पाउँदैनन् । खाने तेलको कृत्रिम अभाव र मनपरी मूल्यका कारण उपभोक्ता अहिले मारका परेका छन् । खास गरी बजारमा भटमासको तेलको कृत्रिम अभाव सिर्जना भएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई÷तीन महिनाको बीचमा खाने तेल विशेष गरी सोयाबिन र सनफ्लावरमा प्रतिकार्टोन तीन सय रुपियाँसम्म महँगो भएको छ । अझै पछिल्लो एक महिनायता सोयाबिन तेलको अभाव अझै बढेको छ । बजारमा कल्पना नै गर्न नसक्ने गरी त्यस्तो तेलको मूल्य बढ्न थालेको सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले बजारमा तेलको नभएको होइन तर कृक्रिम अभाव गर्न थालिएकाले त्यसको मारमा साना खुद्रा व्यापारी र आम उपभोक्ता परेका छन् । दुई÷चार कार्टोन ल्याएर बिक्री गर्ने साना व्यापारीले बजारमा तेल पाउनै गारो छ, पाइए पनि धेरै महँगो तिर्नुपर्ने अवस्था सिर्जना भएको उहाँको अनुभव छ ।
पछिल्लो समयमा तेलमा असाध्यै चलखेल भएको बताउँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो, तेलको पाकेटमा लेखिएको पुरानो अधिकतम मूल्य (एमआरपी) काटेर बढेको मूल्य प्रिन्ट गरेर बजारमा पठाउन थालिएको छ । यस्तो कार्य हामीले पहिलो पटक देखेर सरकारलाई समेत जानकारी गराएका छौँ तर सुनुवाइ भएको छैन ।

तेलको अभाव छ : थोक व्यापारी
नेपालका तेल मिलवाला उद्योगीले यहाँ उत्पादन भएको तेल भारत निर्यात गर्दा भाउ पनि राम्रो पाएपछि उतै पठाउन थालेकाले अभाव भएको थोक व्यापारीले बताउँदै आएका छन् । नेपाल खाद्य किराना थोक व्यवसायी सङ्घका अध्यक्ष देशभक्त श्रेष्ठले सोयाबिन र सनफ्लावर तेल भारत निर्यात हुन थालेपछि नेपाली बजारमा मागअनुसार आपूर्ति नभएकाले भाउ बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, व्यापारीले लुकाएर नभई मिल वा डिलरबाट थोक व्यापारीले पर्याप्त तेल पाएका छैनौँ, तेलको समस्या उद्योगबाट भएको हो ।
उहाँले कुनै तेलको प्योकटमा पुरानो मूल्य काटेर नयाँ प्रिन्ट गरिएको भए त्यो गैरकानुनी हुने भन्दै त्यस्तो गर्ने व्यापारी वा उद्योगीलाई कारबाही हुनुपर्ने माग गर्नुभयो ।

आरोप आधारहीन : उद्योगी
यता नेपाल चामल तेल दाल उद्योग सङ्घले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको छ । सङ्घका अध्यक्ष सुबोध गुप्ताले नेपालमा तेलको ९२ प्रतिशत र दालको ८५ पतिशत कच्चा पदार्थ विदेशबाट आयात हुने गरेको र अन्तर्राष्ट्रियस्तरमा सानो असर पर्ने बित्तिकै मूल्य बढने अहिले त्यही भएको दाबी गर्नुभयो ।
उहाँले बजारमा पछल्लो पटक कच्चा पदार्थका कारण तेलको भाउ बढे पनि अभाव भने नभएको दाबी गर्दै त्यस्तो छ भने सरकारका निकायले बजार अनुगमन गरेर लुकाउनेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । नेपालबाट सोयाबिन र सनफ्लावरको तेल भारत निर्यात भएको भन्नेमा पनि कुनै सत्यता नभएको दाबी गर्दै उहाँले भन्नुभयो, आफ्नो देशमा नपुगी विदेश निर्यात गर्नु हुँदैन भन्ने हामीलाई पनि थाहा छ । उहाँले निर्यात गरे भन्ने आधारहीन हल्ला मात्रै हो भन्दै बजारमा तेल पर्याप्त गएको र सरकारका जिम्मेवार निकायले खोज्नुपर्ने चुनौती दिनुभयो ।

बन्दाबन्दीदेखि नै कार्टेलिङ
उपभोक्ता अधिकारकर्मीहरू भने नेपालमा खानेतेलमा कार्टलिङ बन्दाबन्दीको बेलादेखि सुरु भएको अहिले आएर देखिएको बताउँछन् । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले बजारमा बजारको माग कति हो र कति आपूर्ति भएको छ भन्ने तथ्याङ्क सरकारसँग नहुँदाको परिणाम कारण आज उपभोक्ता महँगी र अभावको मारमा खेप्नु परेको दाबी गर्नुभयो ।
जिम्मेवार निकायसँग माग, आपूर्ति र निर्यातको तथ्याङ्क व्यवस्थित भएको भए बजारमा अभाव र महँगीको पीडामा उपभोक्ता पर्ने थिए र प्रश्न गर्दै उहाँले भन्नुभयो, तथ्याङ्क छैन, मिडियामा आएका भरमा बजार अनुगमन गर्ने, एक÷दुई व्यापारीलाई कारबाही गरेर मात्रै उपलब्धि हुँदैन ।

विभागलाई जानकारी छैन
बजार अनुगमनको जिम्मेवारी पाएको वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा तेलको भाउ बढे पनि अभाव नै भएको बारे जानकारी नभएको जनाएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा तेलको कृत्रिम अभाव गरेको पाइएमा अनुगमन गरेर कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, तेलको प्याकेटमा पुरानो एमआरपी काटेर नयाँ एमआरपी राखेको प्याकेट भेटिए त्यसलाई कारबाही गर्छौं तर हामीलाई प्रमाण चाहियो नि ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?