logo
२०८१ बैशाख ८ शनिवार



नारायणगढ गोन्द्राङ छ लेनकाे सडक निर्माण गर्न काम शुरु

खुला |


नारायणगढ गोन्द्राङ छ लेनकाे सडक निर्माण गर्न काम शुरु
नारायणगढ गोन्द्राङ सडक निर्माणको काम हुँदै, तस्बिर – शालिग्राम नेपाल । चितवन



शालिग्राम नेपाल
चितवन, पुस १४ गते । सवारी साधनको चाप वृद्धि हुन थालेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङमा छ लेनको सडक निर्माण कार्य शुरु भएको छ ।
दुई लेनको सडकलाई छ लेनको बनाउनको लागि अतिक्रमित घर टहरा भत्काउनेदेखि बाटोको साइड सफा गर्ने काम भएको छ । सडक डिभिजनका इन्जिनियर शिव खनालले भन्नुभयो ‘अतिक्रमित क्षेत्र हटाउने र समस्या नभएका ठाउँमा सडक अधिकार क्षेत्र भित्र भौतिक संरचना निर्माणको काम थालिएको छ ।’
सडक निर्माणको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको छ । निर्माण बजेट एक अर्ब बाह्र करोड रुपियाँ र समय २८ महिना रहेको छ । छ लेनको सडक देशकै नमुना बन्ने भरतपुर महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।
५० मिटर चौडाइ रहने यस सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विजुली अन्डरग्राउन्ड हुने भरतपुर महानगरका प्रवक्ता एवम् वडा नम्बर–१० का अध्यक्ष अरूण पीडित भण्डारीले बताउनुभयो ।
यस सडक क्षेत्रको अधिकार क्षेत्रभित्र पर्ने सबै खाले भौतिक संरचना हटाउनका लागि भरतपुर महानगरपालिकामा सर्वपक्षीय छलफल भएको थियो । सरकारी कार्यालयहरु (विद्युत्, टेलिकम, खानेपानी)लगायतसँग समन्वय नहुँदा निर्माणमा समस्या हुने गरेको भन्दै महानगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सरोकारवाला सरकारी निकाय, निर्माण पक्षको उपस्थितिमा छलफल भएको हो ।
यस सडकखण्ड हेर्ने सडक डिभिजनका इन्जिनियर शिव खनालले रुख, व्यक्तिका घरटहरा, विजुलीको पोल, च्याम्बर, टेलिफोन लाइन आदि मुख्य समस्याको विषय रहेको बताउनुभयो । चौबीसकोठी क्षेत्रमा तीन मिटरआसपासका घरहरुमध्ये केही सडक मापदण्ड क्षेत्रभित्र परेकाले हटाउन भनी सूचनासमेत जारी गरिसकिएको इन्जिनियर खनालले बताउनुभयो । साथै, उहाँले व्यक्तिले नभत्काए राज्यले नै भत्काउने तर खर्च भने सम्बन्धित धनीबाट असुलउपर गरिने बताउनुभयो । राष्ट्रिय राजमार्गको हकमा सेन्टरबाट २५ मिटर दायाँबायाँ हुने नीति रहेकाले विसं २०३३ सालमा गरिएको लगत कट्टाबाट केही क्षेत्र खाली गर्न बाँकी रहेकोमा चौबीसकोठीको क्षेत्र परेको उहाँले बताउनुभयो । तर, यस क्षेत्रका २४ घरपरिवारले भने आफूहरुले हालसम्म मुआब्जा नपाएको बताएका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?