logo
२०८१ बैशाख १२ बुधवार

  बालुवाटर बैठक सम्पन्न  



सोह्र बुँदे प्रस्ताव पारित, निर्वाचनमा सहभागी हुन आव्हान

मुख्य समाचार |


सोह्र बुँदे प्रस्ताव पारित,  निर्वाचनमा सहभागी हुन आव्हान


लक्की चौधरी
काठमाडौं, पुस ९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय कमिटी बैठकले १६ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार सम्पन्न बैठकले सबै राजनीतिक दललाई आम निर्वाचनको अभियानमा स्वस्थ वहस र प्रतिस्पर्धाका साथ सहभागी भई लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न आव्हान गरेको छ ।

अहिलेको राजनीतिक संक्रमणका कारण लोकतान्त्रिक प्रणाली कमजोर हुन्छ कि भन्ने कुनै पनि आशंका निराधार रहेको कुरामा विश्वस्त हुन समेत बैठकले आग्रह गरेको छ । परिवर्तनका पक्षधर सबै वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई आपसी संवाद, समझदारी कायम गर्दै अगाडि बढ्न नेकपाले आग्रह गरेको छ । “हाम्रो पार्टी र सरकार नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनका उपलव्धिहरुको रक्षा एवं विकासका लागि कृतसंकल्पित रहेको विश्वास दिलाउन चाहन्छ” निर्णयमा उल्लेख छ ।

मंगलबार र विहिबार बसेको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, “यो बैठक नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी, तुलसीलाल अमात्य, निर्मल लामा, अग्रणी महिला नेतृ साहना प्रधान लगायत कम्युनिष्ट आन्दोलनका सबै अग्रजहरुप्रति उच्च सम्मानभाव प्रकट गर्दछ ।”

देश र जनताको हितका लागि शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सहभागी हुने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सबै ज्ञात अज्ञात सहिदहरुप्रति बैठकले श्रद्धाञ्जली अर्पण गरेको छ । नेकपाले उहाँहरुको आदर्शलाई सधैभरि दृढतासाथ अनुशरण गरिरहने संकल्प पनि गरेको छ ।

बैठकले सरकारद्वारा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णयलाई पार्टीका केही नेताहरुबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षडयन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको वाध्यात्मक कदमका रुपमा ग्रहण गरेको छ । त्यस्तै, निर्वाचित प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयहरुको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको बैठकले ठहर गरेको छ ।

बैठकले केन्द्रीय कमिटीको दोस्रो बैठकपछि दिवंगत भएका केन्द्रीय सदस्य कमानसिंह लामा, केन्द्रीय अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्ना, गुल्मी जिल्ला कमिटीका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश कमिटी सदस्य बोमबहादुर खड्का, प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडी, दाङ्ग जिल्ला कमिटीका संस्थापक सदस्य माणिकलाल गौतम, संविधानसभा सदस्य मानपुर चौधरी, १ नं प्रदेश कमिटी सदस्य हंश राजवंशी, नेकपा सर्लाहीका नेता ध्रुब गौतम, भारत प्रवास समन्वय कमिटीका सदस्य वसन्त अधिकारी, विप्लव समूहद्वारा मोरङ्गको मिक्लाजुंग गाउँपालिकामा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

नेकपा बैठकले चिनी उद्योगसँग उखु बिक्री गरेबापत् प्राप्त गर्नु पर्ने वक्यौता रकम प्राप्त गर्न तराई मधेसका विभिन्न जिल्लाबाट काठमाडौं आई शान्तिपूर्ण धरनामा बस्नुभएका उखु किसानहरुको सबै रकम उद्योगीहरुबाट अविलम्ब चुक्ता गराउने प्रबन्धका लागि सरकारलाई थप प्रभावकारी पहल गर्न माग गरेको छ । त्यस्तै, प्रतिनिधिसभा विघटन भई मुलुक निर्वाचनतिर उन्मुख भइसकेको परिप्रेक्ष्यमा राज्यका सबै अंगहरुलाई शान्ति सुरक्षा, अमन चयन र सुशासनका क्षेत्रमा पूर्ववत् र अझ प्रभावकारी काम गर्न आह्वान गर्दै शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई कमजोर गर्ने कदमप्रति सजग हुन आह्वान समेत गरेको छ ।

नेकपा बैठकले नेपालको वास्तविक भूभाग समेटेर नयाँ प्रशासनिक राजनीतिक नक्सा प्रकाशन गरेको र त्यसलाई संविधानको अनुसूचीमा रहेको निशान छापमा प्रतिविम्बित गर्न अभूतपूर्व राष्ट्रिय एकता कायम गर्दै संविधान संशोधन गर्न सफल भएकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । सो प्रक्रियामा सहभागी भई योगदान गर्नुहुने सबैलाई धन्यवाद दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप