logo
२०८१ बैशाख ७ शुक्रवार



सङ्क्रमित कर्मचारीलाई बिदा,घरमै बसे १४ दिन, हस्पिटलमा अवधिभर

खुला |


सङ्क्रमित कर्मचारीलाई बिदा,घरमै बसे १४ दिन, हस्पिटलमा अवधिभर


मुकुन्द गैरे
काठमाडौं, मङ्सिर २३ गते । कोरोना सङ्क्रमित कर्मचारीले कोरोना बिदा पाउने भएका छन् । मन्त्रिपरिषद्ले यही मङ्सिर १० गते उक्त निर्णय गरी कार्यान्वयनको लागि मातहतका सबै निकायमा परिपत्र पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता शंकर नेपालले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो । कोरोना पोजेटिभ देखिए पनि सामान्य अवस्थामा रहेको कर्मचारीलाई १४ दिनको बिदा, हस्पिटलमा बस्नुपर्ने अवस्थाको कर्मचारीलाई हस्पिटलमा उपचार गरेको समयावधिसम्म बिदा पाउने उहाँले बताउनुभयो ।

साथै, निजी संघ संस्थाका हकमा समेत सोही अनुसारको व्यवस्था गर्न/गराउन पनि परिपत्रमा उल्लेख गरिएको छ । यो निर्णयसँगै यसअघि कोरोना संक्रमणका कारण कार्यालयमा आउन नसक्नेका कर्मचारीलाई पनि सोही अवधिको कोरोना बिदा पाउने भएका छन् । कोरोनाको कारण कार्यालयमा उपस्थित हुन नसकेका सरकारी तथा अर्धसरकारी निकाय सबैले उक्त बिदा पाउन सक्नेछन् ।

बिदाको लागि सम्बन्धित कार्यालय प्रमुखले क्वारेन्टिन वा आइसोलेशनमा बसेको वा अस्पतालमा भर्ना भएको व्यहोरासहितको प्रमाणहरु अनिवार्य छ । सार्वजनिक निकायमा कार्यरत पदाधिकारी वा कर्मचारी कोरोनाबाट संक्रमित भएमा वा कन्टयाक्ट ट्रेसिङ्गमा परेमा त्यस्ता पदाधिकारी वा कर्मचारीबाहेक अन्य कर्मचारी-पदाधिकारीबाट सार्वजनिक सेवालाई निरन्तरता दिने व्यवस्था मिलाउन समेत परिपत्रमा भनिएको छ । यसको नियमित अनुगमन सम्बन्धित मन्त्रालय र प्रदेश संकट व्यवस्थापन केन्द्र, जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गर्नेछन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको सन्दर्भमा सङ्क्रमित कर्मचारीलाई बिदा दिने विषयमा प्रस्ताव सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा केही हप्ताअघि कोरोना विदाको प्रस्ताव पठाएको थियो । यसअघि कोरोना संक्रमण देखिएका कर्मचारीलाई छुट्टै बिदा दिने  कानुनी व्यवस्था नरहेकाले बिदा दिनुपर्छ भनेर मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी  बताउनुहुन्छ ।हाल नेपालमा तीन तहमा एक लाख ३८ हजार निजामती कर्मचारीको दरबन्दी छ । संघमा ५९ हजार, प्रदेशमा २२ हजार पाँचसय र स्थानीयमा ६७ हजार कर्मचारीको दरबन्दी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप