logo
२०८१ बैशाख १३ बिहीवार



कोरोना कहरबीच तराईमा छठ पर्व मनाईँदै, खरना गरियो

खुला |
समाज |


कोरोना कहरबीच तराईमा छठ पर्व मनाईँदै, खरना गरियो


माला कर्ण
सप्तरी, मंसिर ४ गते । कोरोना महामारीको बीच प्रत्येक वर्ष झैं यो वर्ष पनि हिन्दुहरुको महान् पर्व छठ बुधबारदेखि शुरु भएको छ । छठको दोस्रो दिन बिहीबार साँझ खरना गरिएको छ । दिनभरी उपबास बसेका ब्रतालुहरुले साँझ आ—आफनो घरमा सख्रको खिर बनाएर दिनानाथ दिनकर अर्थात सूर्यदेवलाई चढाएर प्रसाद ग्रहण गरेपश्चात ब्रतको आरम्भ हुन्छ । आज शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यदेवलाई अर्घ दिइनेछ ।
अपार श्रद्धा भक्तिका साथ मनाईने छठपर्व धार्मिक परम्परा अनुसार बुधबार नहाइ–खाइ (नुहाएर चोखो खाने) बाट शुभारम्भ भएको हो । तराई क्षेत्रका मैथिल महिलाहरुले विशेष महत्वका साथ मनाउँदै आए पनि हाल सबै जातजातिले साझा रुपमा यो पर्व मनाउन थालेका छन् ।

सरकारले पोखरी तथा नदीमा नगई घरभित्रै पर्व मनाउन आग्रह गर्दा पनि यो पर्वको लागि जिल्लाको सबै पोखरी तथा जलाशयहरु सिँगारिएको छ । छठको लागि सप्तरीको कोशी ब्यारेजमा छठको पूजाको व्यवस्था गरिनुको साथै घाटहरु पनि सीमित स्थानमा बनाइएको छ। त्यस्तै राजविराजको भगवती पोखरी, कल्टुदास पोखरी, पुरनी पोखरीलगायत कल्याणपुरको खडक नदी, बरसाईनको पोखरी, रुपनी बन्चनपुरलगायतका पोखरी तथा जलाशयहरुको सफासुघर गरिनुको साथै सजाईएको छ ।

कार्तिक शुक्लपक्षको षष्ठी तिथिमा मनाईने यो पर्व चार दिनसम्म मनाइन्छ । कात्तिकको चौथीदेखि ब्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमी तिथिको दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छ पर्वको विधिवत समापन गरिन्छ । पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई अरबा–अरबाइन वा नहाइ खाइ भन्ने गरिएको छ । यो दिनमा ब्रतालुहरुले नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । ब्रतालुले भोजनमा माछामासु लसुन प्याज र कोदोजस्तो वस्तु परित्याग गरी यसै दिनदेखि ब्रत बस्न थाल्छन् ।

पञ्चमी तिथिको दोश्रो दिनलाई खरना भनिन्छ । खरना छठपर्वको अघिल्लो दिन भएकाले यो दिन ब्रतालुहरु दिनभरि निर्जला ब्रत बस्ने गर्छन् र साँझपख नुहाएर चोखो भई पूजाकोठामा नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र खीरलाई लिईन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर ब्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई प्रसादको रुपमा ग्रहण गर्छन् । यो दिन पछि ब्रतालुले पूर्ण ब्रत लिईनुपर्ने परम्परा रहँदैआएको बताउनुहुन्छ मैथिल साहित्य परिषदका पूर्व अध्यक्ष देवेन्द्र मिश्र ।

उहाँका अनुसार षष्ठीका दिन तेश्रो दिन गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी पिठोबाट विभिन्न गुलियो खाद्य साम्रगी बनाइन्छ । छठ पूजाका सामग्री तयार पर्दा विशेष चनाखो रहनुपर्ने हुन्छ । पूजा सामग्री चोखो र शुद्ध हुनुपर्दछ जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास रहँदैआएको छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरुले निक्कै सतर्कता अपनाउने गर्छन् । त्यसैले छठ पर्वसँग सम्बन्धित महिलाहरुले बिभिन्न गीतहरु गाउने गरेको मैथिली समुदायका व्रतालु महिला मिरादेवी कर्ण गुनगुनाउँछिन्ः
केरवा जे फरल घउरसे ओहि पर सुगा मडराय ।
मारबौ रे सुगवा धनुषसे सुगा गिरे मुरझाय ।।

छठी मातालाई चढाउने फलफूल जुठो हुनुहुन्न । छठ मातालाई चढाउने केरा सुगा वा अन्य कुनै पशुपंक्षीले नखाऊन् भनेर गीतबाटै सचेत गराउन खोजिएको उहाँको कथन छ । सोही दिन अन्नबाहेक फलफूल ठकुआ भुसवा खजुरी, पेरुकिया तथा मूला, गाँजर, बेसारको गाँठा,े ज्यामिर, नरिवल, सुन्तला, केरा सहितका सामग्रीहरु नाङ्गलो, कोनिया, सरबा, ढाकीमा राखेर छठी मातालाई अर्घ दिनका लागि तयार गरिन्छ । साथै माटोको हाथीको समेत अनिवार्यता रह्ने गरेको उनी बताउँछिन् । पूजा सामग्रीहरु ढक्कीमा राखेर परिवारका सम्पूर्ण सदस्यहरुका साथ विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।
षष्ठी तिथिका दिन साँझ ब्रतालुले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसाद स्वरुप अर्घ दिनका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्ने गर्छन् । सोही क्रममा ब्रतीले दुवै हत्केलामा पिठार (चामललाई बनाईएको) र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताउँदो सूर्यलाई अर्पण गरिन्छ ।

पर्वको चौथो अर्थात अन्तिम दिनलाई पारन भनिन्छ । यो दिन बिहान उषाकालमा ब्रत गर्नेहरु पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।
महाभारत ग्रन्थमा द्रोपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेको कुरा उल्लेख रहेको पण्डित रामकुमार शास्त्री बताउँनु हुन्छन् । उहाँका अनुसार उक्त समयमा पाण्डवहरु मिथिलाको बिराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ ब्रत गरेकी थिइन् फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ पर्वु गर्ने परम्पराको सुरुवात भएको कुरा उल्लेख गरिएको छ ।

छठ पर्वमा ब्रत गरेमा दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरु चढाउँदा सूर्य देउता प्रसन्न भई ब्रतीको परिवारलाई भलो हुने जनबिश्वास रहँदैआएको पण्डित शास्त्री बताउनुहुन्छ । यस पर्वमा जो ब्रत बस्न सक्दैन उसले अरुबाट समेत ब्रत गराउने गर्छन् । आर्थिक अभाव रहेमा वा भाकल पूरा भएकाहरुले भिक्षा मागेर पनि यो पर्व मनाउने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?