logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनासँगै डेंगुको चपेटामा सुर्खेत, तीन महिनामै १३३ जना बिरामी

प्रदेश |


कोरोनासँगै डेंगुको चपेटामा सुर्खेत, तीन महिनामै १३३ जना बिरामी



ललित बसेल
सुर्खेत, कात्तिक १२ गते । प्रदेशमा सवैभन्दा धेरै कोरोना सङ्क्रमणको मारमा परेको प्रदेश राजधानी सुर्खेत डेंगु रोगको चपेटामा पनि परेको छ । डेंगुका बिरामी धमाधम फेला पर्न थालेपछि स्वास्थ्यकर्मीलाई पनि यसको उपचार तथा रोग नियन्त्रणमा थप खटिनुपरेको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार चालु आर्थिक बर्षको साउन यता गतवर्षको भन्दा धेरै डेंगुका बिरामीहरु फेला परिसकेका छन् । निर्देशनालयका महामारी फोकल पर्सन श्यामलाल आचार्यले गतवर्ष सुर्खेतमा १०२ जना डेंगुका विरामी फेला परेकोमा यसवर्ष साउनदेखि असोज महिनासम्ममा १३३ जना विरामी फेला परिसकेको बताउनुभयो । तथ्यांकले नै डेंगु रोग आक्रामकरुपमा बढेको बताउँदै उहाँले त्यसको नियन्त्रण तथा रोकथामका लागि काम पनि भइरहेको जानकारी दिनुभयो ।
सुर्खेतमा पनि सवैभन्दा बढी जोखिम वीरेन्द्रनगर नगरपालिकामा छ । सदरमुकामसमेत भएकोले जनघनत्व बढेको, मानिसहरुको लापरबाही बढी हुने भएकोले डेंगुको सङ्क्रमण बढ्न पुगेको फोक लपर्सन आचार्यले बताउनुभयो ।
गतवर्ष वीरेन्द्रनगरमा मात्रै ९९ जना विरामी फेला परेको र एक जनाको मृत्यु भएको थियोभने यसवर्ष मृत्युन भएपनि १०२ जना फेला परिसकेका छन् । घरका छतहरुमा राखिएका पानीका भाँडाहरु, गाडीका टायरहरुमा जम्मा भएको पानी, खाल्डाखुल्डीले डेंगु रोग बढाउने गरेको छ । डेंगु बढ्न थालेपछि यसको नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान थालिएको छ ।
फोकल पर्सन आचार्यले वीरेन्द्रनगर बजारका साथै भेरीगंगाको छिन्चु, पंचपुरीको बावियाचौर बजारमा डेंगु रोग रोकथामका लागि जम्मा भएको अनावश्यक पानी घोप्टाउने, झाडी फाँड्ने, लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान थालिएको बताउनुभयो । उहाँले अनावश्यक जम्मा भएको पानी घोप्टाउन, टायर तथा ड्रमहरुमा पानी धेरै नराख्न आग्रह गर्नुभएको छ । साथै डेंगु रोगको रोकथामका लागि परीक्षण गर्न सवै स्थानीय तहको स्वास्थ्य संस्थामा आरडीटी कीट पठाइसकिएको छ । उहाँले डेंगु परीक्षण पनि निःशुल्क गरिने जानकारी दिनुभयो ।
सुर्खेतसहित सल्यान, दैलेख, कालीकोट र रुकुम डेंगुको जोखिमयुक्त जिल्लामा पर्दछन् । भदौदेखि कात्तिकसम्म बढी फैलिने भएको र चिसो मौसममा यो रोग कम हुने गरेको फोकल पर्सन आचार्यले बताउनुभयो ।
स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले कोरोनासँगै डेंगु रोगको उपचारमा पनि स्वास्थ्यकर्मी, चिकित्सकहरु खटिनुपरेको बताउनुभयो । उहाँले डेंगु सार्ने लामखुट्टे खोज र नष्ट गर्ने अभियान थालिएकोले यसको सङ्क्रमण कम हुने विश्वास व्यक्त गर्नुभयो । साथै अनावश्यक जम्मा भएको पानी हटाउनु नै यसबाट बच्न सकिने राम्रो उपाय भएको सुझाव उहाँको छ ।
फोटो क्याप्सनः कोरोनासँगै डेंगु रोगको जोखिममा रहेको सुर्खेत उपत्यका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?