logo
२०७७ मंसिर १५ सोमवार

विदेशीले बिगार्ने छैनन् नेपाली

विचार/दृष्टिकोण |


2020-10-24-25343


डा. कुन्दन अर्याल

कात्तिक ७ गते राति १२ बजेदेखि विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ अनुसार नेपालको टेलिभिजन प्रसारणको इतिहासमा नयाँ दिन प्रारम्भ भइसकेको छ । अब कानुनले नै २०७७ कात्तिक ७ गतेलाई स्मरणीय बनाइदिएको छ । कानुनी व्यवस्थाअनुसार विदेशी टेलिभिजन च्यानलमा नेपालीले अब कुनै विज्ञापन हेर्न पर्दैन । त्यतिमात्र होइन, अब नेपाली टेलिभिजन च्यानलहरूमा पनि अभिताभ बच्चनले नेपाली भाषामा बोल्दै ....तेल लगाउनुस् भनेको वा उहाँको स्वरलाई नेपालीमा ‘डबिङ’ (भाषान्तरण÷ स्वराङ्कन) गरिएको देख्नु र सुन्नुपर्ने छैन । कुनै अर्को वस्तुको विज्ञापन कुनै गैरनेपाली कलाकारको नेपालीमा स्वराङ्कन गरिएको बोलीमा प्रसारण हुने कार्य अब गैरकानुनी ठहरिनेछ ।
विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गर्न नपाइने प्रावधान एक वर्षपछि लागू गर्ने व्यवस्थासहित पोहोर संसद्बाट विज्ञापनसम्बन्धी नयाँ ऐन पारित भएको थियो । ऐनको जुन दफाले विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित प्रसारणका लागि मात्र अनुमति दिएको छ, त्यही दफाले नेपाली च्यानलहरूमा वैदेशिक सन्दर्भमा बनाएर भाषान्तर गरी स्वराङ्कन गरिएको विज्ञापन प्रसारणमा पनि रोक लगाएको छ ।
विदेशी च्यानलहरू विज्ञापनरहित हुन थालेपछि नेपालका टेलिभिजन च्यानलहरूको आर्थिक अवस्था बलियो हुँदै जाने बाटो खुल्ने विश्वास गरिएको छ । यो व्यवस्थासँगसँगै बहुराष्ट्रिय कम्पनीहरू नेपालका छापा माध्यमहरूलाई पनि केही विज्ञापन थप्न प्रेरित हुने अनुमान मिडिया व्यवस्थापकहरू गर्छन् । यसबाट उल्लेखनीय लाभ नेपालका विज्ञापन एजेन्सीहरूलाई हुने प्रस्टै छ । कार्यान्वयन गराउने निकायहरूले इमानदारीपूर्वक दायित्व निर्वाह गरिदिएको खण्डमा यो प्रावधानले नेपालीको विज्ञापन उद्योगकै पुनःसंरचना गरिदिनेछ । वार्षिक १०–१२ अर्बको नेपालको विज्ञापन बजारको आकार यो व्यवस्थासँगै २० अर्बको हुने प्रारम्भिक अनुमान एजेन्सीहरूले गरेका छन् । स्वदेशी च्यानलहरूमा पनि डबिङ गरिएको विज्ञापन बजाउन नपाइने भएपछि नेपाली विज्ञापन उद्योगमा सिर्जनशीलताको व्यापक विस्तार हुनेछ । विज्ञापन उद्योगसँगै नेपालका कलाकारहरूको
आम्दानीसमेत बढ्नेछ ।
नेपाली कलाकार, नेपालीपना, नेपाली परिवेश यस्ता पक्षहरू हुन्, जसले नजानिँदो ढङ्गमा जहाँसुकै बस्ने हरेक नेपालीलाई अर्को नेपाली नागरिकसँग जोडिरहेका हुन्छन् । साझा बोध र अभिव्यक्तिको माध्यम प्रदान गरिरहेको हुन्छ । समकालीन नेपाली संस्कृति वा नेपालीपनालाई हरेकको मन–मस्तिष्कमा स्थापित गरिहेको हुन्छ । छोटो र सटिक ढङ्गले खास सन्देश प्रवाहित गर्न अत्यन्त मिहिनेतसाथ मानिसको मनोविज्ञानलाई समात्न स्वदेशमै बनाइएका त्यस्ता विज्ञापनहरूले नजानिँदो रूपमा साँस्कृतिक पहिचानका आधारहरू पनि निर्माण गरिरहेका हुन्छन् । यसरी राजस्व, रोजगारी वा व्यवसायजस्ता आर्थिक लाभको दृष्टिका साथै सामाजिक, साँस्कृतिक आयामबाट हेर्दा पनि ‘क्लीन फीड’ राष्ट्रियहितको पक्षमा रहेको छ । प्रचलित भाषामा ‘क्लीन फीड’ भन्ने गरिएको विज्ञापनरहित प्रसारण लागू भएपछि नेपालका टेलिभिजनहरूमा तत्कालै नेपालीमा डबिङ गरिएका विज्ञापनहरू प्रसारण हुनु गैरकानुनी ठहरिनेछ । त्यसैले हिजोदेखि नेपाली च्यानलहरूमा विदेशी परिवेशमा विदेशी विज्ञापनका नेपाली रूपान्तरण प्रसारित हुनु कानुनविपरीत कार्य मानिनुपर्छ । तर, नयाँ विज्ञापन ऐनको यो प्रावधानलाई जुक्तिपूर्वक अझ केही पर पन्छाइने सम्भावना पनि उत्तिकै छ । नेपालको सबैभन्दा ठूलो टेलिभिजन संस्था नेपाल टेलिभिजनमै कुल विज्ञापनको ७५ प्रतिशत अंश बहुराष्ट्रिय कम्पनीका उत्पादनहरूको विज्ञापनको छ । ती सबैजसो नेपालीमा डबिङ गरिएका विज्ञापनहरू हुन् । यस्तो स्थितिमा निजी च्यानलहरूले पनि त्यस्ता विज्ञापनहरूलाई तत्कालै प्रतिस्थापन गर्न गाह्रो हुने बताउन सक्छन् ।
ऐनको दफा (६) ले गरेको त्यो व्यवस्थालाई अब दफा (१५) देखाएर लागू नगर्ने जुक्ति अघि सार्ने सम्भावना प्रवल छ । ऐनको दफा (१५) मा विज्ञापन बोर्डको प्रावधान छ । साथै, ऐनले विज्ञापन प्रसारणको अनुगमनसम्बन्धी सम्पूर्ण अधिकार बोर्डलाई सुम्पिएको छ । त्यसैले बोर्डको गठन नहुन्जेल डबिङ विज्ञापन रोक्ने प्रावधान पनि लागू हुन नसक्ने तर्क स्वदेशी च्यानलहरूले राख्न सक्ने प्रस्टै देखिँदै छ । नयाँ विज्ञापन ऐनको कार्यान्वयनको बाटोमा यो टड्कारो तत्कालीन चुनौती हो । तर, सङ्घीय संसद्बाट पारित भएको ऐनको पालना गराउनु सरकारको दायित्व हो, पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हो ।
कतिपय बहुराष्ट्रिय कम्पनीहरूले भने नेपालको प्राकृतिक छटा र संस्कृतिसमेत झल्काउने बडो आकर्षक विज्ञापनहरू उत्पादन गरेर भोलिको राम्रो सम्भावनाको सङ्केत गरेका छन् । गर्मी महिनामा मात्र खाने चिसो पेयको छविलाई विस्तार गरेर जाडो याममा मःमःसँग रमाइरहेका युवामाझ देखाइएको विज्ञापन नेपाली परिवेश, कलाकार र संस्कृतिसँग जोडिएको छ । कुनै मोटरसाइकलले नेपालको प्राकृतिक सौन्दर्यलाई समेत उजागर गर्दै नेपाली भाषामै त्यस्तै प्रभावकारी विज्ञापन बनाइएको छ । हिजोसम्म विदेशी विज्ञापनलाई नेपालीमा डबिङ गराउने त्यस्ता अरू पनि कम्पनीका विज्ञापन नेपाली परिवेशमा बनेका देखिन्छन् । त्यसैले दीर्घकालीन रूपमा ऐनको प्रावधान लागू हुनै नसक्ने कारण छैन ।
केही दिनपहिले इन्डियन ब्रोडकास्ट फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केवल टेलिभिजन महासङ्घलगायतका संस्थाले विज्ञापनरहित प्रसारणको प्रावधान लागू गर्ने म्याद थप्न माग गरेका थिए । तर, एक साताभन्दा अघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ऐनअनुसार नै सो प्रावधान यथासमयमै लागू हुने जानकारी सार्वजनिक ग¥यो । गएको वर्ष संसद्बाटै विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ पारित गरिँदा ऐन प्रारम्भ भएको मितिले एक वर्ष अर्थात् ०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारणसम्बन्धी प्रावधान लागू गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था गरिएको थियो । वास्तवमा संसद्ले पारित गरिसकेको कानुनलाई पालना नगराउन सरकारलाई निवेदन पेस गर्नु नै
उचित थिएन ।
यसबीच, नेपालको कानुनमा गरिएको क्लीन फीडको व्यवस्थाले भारतीय च्यानलहरू दुःखी भएको व्यहोराका समाचारहरू भारतीय मिडियामा प्रशस्त आएका छन् । विदेशी च्यानलले क्लीन फीड प्रसारण गर्नुपर्ने र स्वदेशी च्यानलले डबिङ गरिएका विज्ञापन बजाउन नपाउने प्रावधानलाई टार्दै वा पर सार्दै लैजाने आकाङ्क्षा केही कोणहरूबाट अझै अभिव्यक्त नभएका होइनन् । तर, जसरी नेपालीहरूले हेरिरहेका सीएनएन, अलजजिराजस्ता च्यानलहरूबाट अहिले नै क्लीन फीड प्रसारण भइरहेकाले उनीहरूलाई भोलि पनि कुनै आपत्ति हुने देखिँदैन, त्यसैगरी आजतक, सोनी, कलर्स, बीबीसी वा केही खेलसम्बन्धी च्यानलहरूले पनि नयाँ व्यवस्थाका लागि तयारी गर्ने नै छन् ।
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लीन फीड) प्रसारण गर्नुपर्ने व्यवस्था ऐनको दफा ६ (१) ले गरेको छ । गएको वर्ष २०७६ साल कात्तिक ८ गतेदेखि लागू भएको विज्ञापन नियमन गर्नेसम्बन्धमा व्यवस्था गर्न सङ्घीय संसद्ले बनाएको ऐनको दफा ६ मा विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने प्रस्ट प्रावधान रहेको छ । जसको उपदफा (१) मा भनिएको छ– नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लीन फीड) प्रसारण गर्नुपर्नेछ । त्यसैगरी उपदफा (२) मा उल्लेख गरिएको छ– उपदफा
(१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ । यही दफाको उपदफा (३) मा प्रस्ट भनिएको छ– विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन । सरकारबाट गएको साउनमा वितरकहरूलाई डाउनलिङ्कको अनुमति नवीकरण गर्दा पनि यससम्बन्धमा सूचना विभागमार्फत प्रस्ट जनाउ दिइएको थियो । त्यसपछि सोनीलगायत केही विदेशी च्यानल र देशका केबल अपरेटरहरूले गएको सातासम्म ७०÷८० प्रतिशत तयारी पूरा गरिसकेको अनुमान पनि गरिएको थियो । त्यसैले अब कानुनअनुसार हिजैदेखि विदेशी च्यानलमा अन्तर्वस्तुमात्र आउने कानुनी व्यवस्था कार्यान्वयन भएको छैन भने कानुन बहाल नभएको मान्नुपर्ने हुन्छ । नेपाली च्यानलमा अब पनि डब गरिएका होइनन्, हामीकहाँ नै निर्माण गरिएका विज्ञापनमात्र बजेनन् भने कानुनको अवहेलना भएको बुझिनेछ ।

(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा आबद्ध हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?