logo
२०८१ बैशाख १३ बिहीवार



सकियो मनसुुन

विगत दस वर्ष यताको तथ्याङ्कमा यस वर्ष सबैभन्दा धेरै क्षति

खुला |


सकियो मनसुुन


चाँदनी हमाल

काठमाडौँ, कात्तिक २ गते । कोरोना भाइरस (कोभिड–१९) ले हल्का च्याप्दा सुुरु भएको मनसुुन असोज महिना सकिएसँगै बाहिरिएको छ । विगत दस वर्षको तथ्याङ्क अनुसार यो वर्षको मनसुनले सबभन्दा धेरै विपद् दिएर बाहिरिएको छ ।
मनसुन बाहिरिएसँगै झलमल घाम लाग्ने र बिहान बेलुका हल्का चिसो हुनेगरी शरद ऋतु भित्रिएको महसुस गर्न थालिएको छ । शनिबार घटस्थापना सुरु भएसँगै यस वर्षको दशँै तिथिगत रूपमा सुरु भएको छ । मौसमले पनि दशैँ आएको झल्को दिएको मौसमविद् बताउँँछन् ।
कोरोनाको भय र त्रासबीच विपद्मा परेकालाई निरन्तर झस्काइरहेको छ । कैयौँले आफ्ना परिवारका सदस्य गुमाएका छन् । कैयौँ घरबारविहीन भएर त्रिपालमुनि बस्न बाध्य छन् । यस वर्षको मनसुनमा पहिरोको उग्रताका कारण अकल्पनीय रूपमा अत्यधिक जनधनको क्षति नेपालले बेहोर्नुपरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल बताउनुुहुुन्छ ।
मनसुन अवधिभर विगत दस वर्ष यताकै धेरै जनधनको क्षति भएको छ । मनसुन सुरु भएपछि जेठ यता ३६७ जनाले विभिन्न खालका विपद्बाट ज्यान गुमाएका छन् । यस वर्षको वैशाख यता ४०२ जनाले ज्यान गुमाएका छन् ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी, पहिरो र चट्याङ जस्ता मुख्य विपद्बाट २९३ को मृत्यु भएको छ । पोखरेलले अकल्पनीय पहिरोका कारण सबैभन्दा बढी क्षति भएको हो, सोच्दै नसोचिएका स्थानमा पहिरो जाँदा पूर्वतयारी गर्न नपाइएको अवस्था थियो भन्नुभयो । उहाँका अनुसार विगतका वर्षमा करिब एक सय जनाको हाराहारीमा पहिरोका कारण ज्यान गएको तथ्याङ्क छ । पहिरोमा पुरिएर अझै ६४ जना बेपत्ता भएका छन् भने २२२ जना घाइते भएका छन् ।
उहाँले बाढीबाट ३९ को मृत्यु भएको बताउनुभयो । बाढीमा बगेका अझै ३६ जना बेपत्ता छन् । नौ जना घाइते भएका थिए । बाढीको क्षति विगतको तुलनामा न्यून रहेको पोखरेल सुनाउनुहुन्छ । विशेषगरी यस वर्ष प्रदेश–२ मा बाढीको वितण्डा विगतमा जस्तो नभएकाले क्षति कम भएको हो । पहाडी भेग छोएका क्षेत्रमा बाढी र पहिरो दुवैको वितण्डा बढी रह्यो ।
त्यसैगरी मनसुनी चक्र लामो चल्दा चट्याङ लागेर पनि धेरैले ज्यान गुमाउन पुगेको पोखरेल उल्लेख गर्नुहुन्छ । मनसुनको अवधिमा चट्याङ लागेर ३५ को मृत्यु भएको छ । यस घटनामा ९४ जना घाइते हुन पुगेका थिए । अझ मनसुनजन्य विपद्का कारण घरबार गुमाउनेको सङ्ख्या सम्पूर्ण रूपमा यकिन भइसकेको छैन ।
जनधनको क्षति र घरबास गुमाउनेको यकिन तथ्य विश्लेषण गर्न जिल्ला जिल्लामा पत्राचार गरी जानकारी उपलब्ध गराउन भनिएको पोखरेलले बताउनुभयो । साथै विपद्ग्रस्त क्षेत्रको शिक्षा, स्वास्थ्य, अन्य पूर्वाधारको अवस्थाका बारेमा सम्बन्धित मन्त्रालयसँग आवश्यक जानकारी प्राधिकरणले मगाएको छ ।
भौतिक क्षति र घरबास गुमाएको यकिन हुने बित्तिकै अलपत्र परेकाको व्यवस्थित पुनस्र्थापना थालिने तयारी प्राधिकरणले गरेको छ । जसका लागि विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान वितरण कार्यविधि २०७७ प्राधिकरणको कार्यकारी समितिबाट पारित गरिएको छ । कार्यविधि अब बस्ने मन्त्रिपरिषद् बैठकमा पारित गर्न गृह मन्त्री रामबहादुर थापाले लैजाने जनाइएको छ ।
गत जेठ ३० गतेबाट सुरु भएको मनसुन असोज मसान्तबाट सम्पूर्ण रूपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । नेपालको पूर्वी भूभाग हुँदै नेपाल भित्रिएको यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णाली र प्रदेश–५ बाट भने १५ दिनअघि अर्थात् असोज १५ गते नै बाहिरिएको थियो । पूर्वी भूभागमा भने ढिला गरी १५ दिनपछि मात्र मनसुन
बाहिरिएको हो ।
अहिले झलमल घाम लाग्ने अनि आकाश खुला रहनेगरी मौसम खुलेको छ । तत्काल कुनै प्रणाली सक्रिय हुने अवस्था देखिन्न मौसमविद् विभूति पोखरेलले भन्नुभयो । पश्चिमी वायुको चाप बढेसँगै पूर्वीय वायुको चापले सक्रिय हुने मनसुनले यस वर्ष विश्राम लिएको उहाँले बताउनुभयो । पश्चिमी वायुमा यतिबेला पानी पार्ने खालको आद्र्रता विकसित नभएको पोखरेलले उल्लेख गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?