logo
२०८० चैत्र १६ शुक्रवार



हात धुने स्टेसनमा पानीको समस्या

खुला |


हात धुने स्टेसनमा पानीको समस्या



शिवा तामाङ

काठमाडौँ, असोज ३० गते। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण न्यूूनीकरणको उद्देश्यले काठमाडौँ उपत्यकाका अधिकांश स्थानीय तहले ठाउँठाउँमा साबुनपानीले हात धुने व्यवस्था गरेका छन्। तर स्टेसनमा राखिएको ट्याङ्कीमा पानी अभाव भएपछि ती प्रभावकारी रूपमा उपयोगमा आउन सकेका छैनन्।
अक्टोबर १५ विश्वभर हात धुने दिवस मनाइरहँदा राजधानीमा भने स्थापना गरिएको हात धुने स्टेसनको उपयोग राम्रो हुन सकेको छैन। यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइएको छ। सन् २००८ देखि विश्वभर स्वस्थ जीवनका लागि हात धुने दिवस मनाइँदै आइएको छ। काठमाडौँ महानगर–७ का वडाध्यक्ष नवीन मानन्धरले वडावासी लगायत विभिन्न व्यवसाय गरी बस्ने नागरिकलाई कोरोनाबाट बचाउन वडाका २२ स्थानमा हात धुने स्टेसन राखेको जानकारी दिनुभयो।
स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, सामाजिक क्रियाकलापमा सक्रिय संस्था, वाटर एड, गुठी, निजी क्षेत्र लगायत संस्थाले कोरोना सङ्क्रमणबाट नागरिकलाई जोगाउन मिलेर काम गरेका छन्। ती संस्थाले काठमाडाँैँ, ललितपुर, भक्तपुर, कीर्तिपुर लगायत मुलुकभरका बजार क्षेत्र, स्वास्थ्य संस्थामा हात धुन पाँच सय÷हजार लिटर क्षमताका पानी ट्याङ्की र साबुनको व्यवस्था गरेका थिए। त्यसलाई निरन्तर चलाउन पर्याप्त पानी, जनशक्ति र समुदायलाई उत्तरदायी बनाउन नसक्दा त्यसबाट अपेक्षाकृत सफलता हासिल नभएको जनाइएको छ।
महामारी बढेको र दिवसको सन्दर्भसमेत पारेर खानेपानी मन्त्रालयले असोज १३ देखि कात्तिक १४ सम्म हात धुने काम अभियानकै रूपमा मनाउन आह्वान गरेको थियो। यसमा पनि धेरैको ध्यान जान सकेको छैन। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखाका प्रमुख डोलप्रसाद चापागाईंले शाखाका तर्फबाट ललितपुर क्षेत्रमा १४ स्थानमा हात धुने संरचना बनाउन सहयोग गरिएको जानकारी दिनुभयो। ती स्थानमा पानी निरन्तर उपलब्ध गराइएको तर साबुन भने हराइरहने समस्याले राखेर साध्यै नभएको बताउनुभयो।
कीर्तिपुर नगरपालिका वातावरण तथा फोहोरमैला व्यवस्थापन उपशाखाका प्रमुख ज्ञान वज्राचार्यका अनुसार नगरपालिकाभित्र निर्मित हात धुने स्टेसन सबैजसो उपयोगमा रहेको बताउनुभयो। उहाँले त्यस्ता संरचनाको जिम्मेवारी स्थानीय वडालाई दिइएको र महिनाको एक पटक त्यसको रेखदेख, उपयोग तथा अनुगमन गरिएको बताउनुभयो। अनुगमनमा जाँदा उपयोगमा नआएको पानी ट्याङ्कीलाई आवश्यक परेको स्थानमा दिने गरिएको छ। नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सचिव श्याम डोटेलले शाखाले उपत्यकाका २४ स्थानमा हात धुने संरचना निर्माण गरेको बताउनुभयो। गैरसरकारी संस्था गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले हात धुने स्टेसन निर्माणका सम्बन्धमा सरकारले निर्देशिका जारी गरेर एकरूपता ल्याउनुपर्ने बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?