logo
२०८१ बैशाख १२ बुधवार



हुलाकी सडकको पुल निर्माणबारे विवाद, झडपमा छ जना घाइते

खुला |


हुलाकी सडकको पुल निर्माणबारे विवाद, झडपमा छ जना घाइते


शिवशंङ्कर मिश्र
बारा, असोज ५ गते । हुलाकी सडकमा पर्ने पुल निर्माणको विषयलाई लिएर सोमबार दिउँसो बारा र रौतहटका स्थानीयबीच झडप भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया टोल र रौतहटको विजयपुर फतुवा गाउँपालिकाको मेवा टोलका स्थानीय बीच झडप भएको हो । झडपमा दुबैतर्फका आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् ।
झडपको क्रममा टाउको हात, खुट्टामा चोट लागेका घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भएको छ । हुलाकी राजमार्ग अन्तर्गत बारा र रौतहटको सीमा छुटयाउने अरुवा खोलामा पुल निर्माणाधीन अवस्थामा छ । विवादकै कारण सो पुल निर्माणले गति लिन सकेको छैन् ।
अहिलेको ठाउँमा पुल बनाउँदा खोलाले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलिया टोलका स्थानीयले विरोध गर्दै आएको स्थानीय नुरमहमद आलमले बताउनुभयो ।
उता रौतहटका स्थानीयले भने, पुल तोकिएकै स्थानमा बन्नुपर्ने अडान राख्दै आएका थिए ।
यसरी दुबै जिल्लाका स्थानीयबीच विवादको समस्या समाधान नै नगरी आज ठेकेदारले पुल निर्माणकार्य सुरु गरेपछि दुबै समूहबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि दुई जिल्ला जोड्ने ठाउँका स्थानीय बासिन्दा बीच दोहोरो झड्प हुन पुगेको हो ।
दुबै ठाउँका स्थानीयहरु लाठी,भाटा लिएर पुल निर्माणस्थलमा पुगेका थिए । पुल पुरानै ठाउँमा निर्माण गरिने रौतहट पक्ष र ठाउँ परिवर्तन गरी पुल बनाउनुपर्ने बारा पक्षले अडान लिएपछि झड्प हुन गएको स्थानीय रामविश्वास साहले बताउनुभयो ।
झड्पपछि पुल निर्माणका लागि ल्याइएको सिमेन्ट घोल्ने मिक्सरसमेत जलाई बाराबासीले आगो लगाएर जलाईदिएका छन् । बारा, रौतहटको सीमा क्षेत्रमा दुई गाउँबीच झडप भएको नियन्त्रण गर्न दुबै जिल्लाका प्रहरी घटनास्थलमा पुगेर स्थिति समान्य बनाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
दुई जिल्ला जोड्ने सीमानाको पुल निर्माणमा उत्पन्न विवादको लागि सर्वदलिय पक्षको भेला गरी समस्या समाधान गर्न असोज ९ गतेका लागि सहमति आजै गराइएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?