logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना सङ्क्रमित कैदीबन्दीको मृत्यु

प्रदेश |


कोरोना सङ्क्रमित कैदीबन्दीको मृत्यु


सिराज खान
नेपालगञ्ज, असोज ५ गते । बाँकेमा कोरोना भाइरस संक्रमणबाट उपचारकै क्रममा भेरी अस्पतालमा सुर्खेतका एक कैदीको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ४, सहारेका ५८ बर्षीय कैदीको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार दमको विरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या भएपछि ती कैदीलाई उपचारका लागि सुर्खेत कारागारबाट नेपालगञ्ज कारागारमा सारिएको थियो ।

कर्तव्य ज्यान मद्दामा कारागारमा सजाए भुक्तानी गरिरहेका उनको भदौ २१ गते स्वाव लिइएको थियो । त्यही दिन साँझ उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । २२ गते भर्ना भएका उनको सोमबार बिहान ६ बजेर २५ मिनेटमा उपचार गर्दागर्दै मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । तर बाहिर जिल्लाबाट आएर यहाँ उपचारका क्रममा मृत्यु हुनेको संख्या भने उनीसहित ४ पुगेको छ । यसअघि सुर्खेतकै एकजना, कैलाली, अछाम र अर्घाखाँचीका एक–एक जनाको मृत्यु भएको थियो ।

अझै पनि केही संक्रमितहरु गम्भीर अवस्थामा रहेको र उनिहरुको उपचार भैरहेको सो अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?