logo
२०८० चैत्र १६ शुक्रवार



नागरिक सचेतना नै जोगिने उपाय

मुख्य समाचार |


नागरिक सचेतना नै जोगिने उपाय


नगेन्द्र सापकोटा

काठमाडौँ, असोज ४ गते । स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको सचेतना नै कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने प्रभावकारी उपाय भएको बताएका छन् ।
कोरोनाबाट उत्पन्न समस्या समाधान गर्न अबको परिस्थिति सामना गर्न नागरिक आफैँ सचेत बन्न जनप्रतिनिधिले आग्रह गरेका छन् ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यञ्जुले कोरोना भाइरसबाट सिर्जित समस्या समाधान सरकार र जनप्रतिनिधिले मात्र गरेर नहुने भन्दै यसमा नागरिक आफैँ सचेत बन्नुपर्ने सुुझाव दिनुुभयो । अब आर्थिक पक्ष चलायमान बनाउन नसके कोरोनाले भन्दा पनि भोकमरीको समस्या उत्पन्न हुनसक्नेप्रति उहाँहरूले चिन्ता व्यक्त गर्नुभयो ।
प्रमुख व्यञ्जुका अनुसार हरेक नागरिकले मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न सके कोरोना नियन्त्रण हुन सक्ने भन्दै त्यसका लागि नागरिक सचेत बन्नुपर्छ । उहाँले भन्नुभयो, “अरूको दबाबमा परेर भन्दा आफैँ सचेत भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने हो भने कोरोनाबाट धेरै हदसम्म बच्न सकिन्छ ।”
धुलिखेल नगरपालिकामा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रारम्भमा एक करोड रुपियाँ राहत कोष स्थापना गरिएको थियो । त्यसमध्ये ४२ लाख बराबरको कोरोनासँग सम्बन्धित सामग्री विभिन्न निकायबाट ल्याइएको थियो । नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई अहिले आइसोलेसनमा परिणत गरिएको छ ।
धुलिखेलमा सञ्चालित क्वारेन्टाइनमा धुलिखेल आसपासका नागरिकलाई समेत सेवा प्रवाह गर्दै आएको उहाँले बताउनुभयो । नागरिकलाई सुविधा दिने क्रममा ६० वर्ष उमेर पुगेका दलित र ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी लगायतको कोरोना बीमा गरिएको छ ।
तत्काल कोरोना हट्ने सम्भावना नभएको र सधैँ बन्द गरेर उद्योगधन्दा, व्यापार व्यवसाय झनै चौपट बन्दै गएकाले कोरोनाबाट उत्पन्न अबको परिस्थितिअनुसार नागरिक आफैँ सचेत बनेर अर्थतन्त्र चलायमान बनाउनुुपर्ने चुुनौती छ ।
उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना रोकथाम र नियन्त्रणका लागि नागरिक आफैँ सचेत भई सतर्क रहन आग्रह गर्नुहुुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?