logo
२०८० चैत्र १५ बिहीवार



कोरोना त्रासले मानसिक समस्या

मुख्य समाचार |


कोरोना त्रासले मानसिक समस्या


सरोज ढुङ्गेल

काठमाडौँ, असोज २ गते । बिहीबार नेपालमा थप एक हजार २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६४१ जनाको पीसीआर परीक्षणका क्रममा थप एक हजार २४६ जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५९ हजार ५७२ पुगेको बताउनुभयो । कुल सङ्क्रमित उच्च भए पनि देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या भने १६ हजार २४१ छ । यो २४ घण्टामा देशभरबाट एक हजार २४३ जना उपचारपछि निको भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले स्पष्ट पार्नुुभयो ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा काठमाडौँकै अवस्था भने उच्च छ । मन्त्रालयका अनुसार काठमाडौँमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० गरी कुल ६१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बिहीबार नेपालमा थप चार सङ्क्रमितको मृत्यु भएको छ । यसैबीच काठमाडौँ मेडिकल कलेज मानसिक रोग विशेषज्ञ डा. रचना शर्मा बस्नेतले कोरोना महामारीले बालबालिका तथा ज्येष्ठ नागरिकमा मानसिक रोगको समस्या हुँदा सचेत रहन आग्रह गर्नुुभयो ।
कोरोना त्रास बढ्दै गएपछि मलाई पनि कोरोना लाग्छ कि भन्ने चिन्ता मानिसमा भइरहने भन्दै उहाँले मानसिक चिन्ता कम गर्न विभिन्न क्रियाकलाप गरिरहनुपर्ने बताउनुभयो । उहाँले सरकारले ६० वर्ष माथिका वृद्धवृद्धा र बालबालिकालाई बाहिर ननिस्कन गरेको आग्रहले पनि उनीहरूमा मानसिक समस्या बढेको बताउनुभयो ।
डा. बस्नेतले दीर्घरोगी, नियमित औषधि सेवन गर्ने मानिसमा चिन्ता, त्रास र मानसिक समस्या बढेको जानकारी दिनुभयो । उहाँले खान मन नलाग्ने, निद्रा नलाग्ने जस्ता समस्या पनि मानसिक रोगको समस्या रहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?