logo
२०८१ बैशाख ५ बुधवार



सेनिटाइजरको गुणस्तरमा समस्या

अर्थ |


सेनिटाइजरको गुणस्तरमा समस्या


सीता शर्मा

काठमाडौँ, असोज १ गते । कोरोना नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनले सुझाएका दुई उपायमा साबुन पानीले हात धुने र सेनिटाइजरले हात सफा गर्ने प्रभावकारी मानिएको छ । त्यसैअनुसार साबुन र सेनिटाइजरको माग विश्वव्यापी रूपमा बढ्दो छ ।
नेपालमा पनि कोरोनाको प्रभाव बढेसँगै यी दुईको माग बढेको छ । मागसँगै गलत कार्यले पनि प्रोत्साहन पाएको छ । साबुनको माग बढ्दा साबुन उत्पादक साबुन उत्पादन गर्न छाडेर सेनिटाइजरतिर लागे । अहिले त्यसले अर्को समस्या उत्पन्न भएको छ ।
तत्काल कमाउने प्रवृत्तिले मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । त्यसैले औषधि व्यवस्था विभाग दैनिकजसो आयातित वा स्वदेशमा नै उत्पादन भएका पनि सेनिटाइजर प्रतिबन्ध लगाउन व्यस्त छ ।
बुधबार मात्र विभागले नेपालमा प्रयोगमा आइरहेका चार कम्पनीका सेनिटाइजरलाई प्रतिबन्ध लगाएको छ । विभागले ती सेनिटाइजरको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल नामक रसायन मिश्रण गरेको पाइएको जनाएको छ ।
विषाक्त सेनिटाइजरमध्ये चीनमा बनेको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र भारतमा बनेको पामाकेयर स्ट्यान्ड ह्यान्ड सेनिटाइजर ६० एमएलमा ती रसायन मिसावट गरिएको पाइएको हो ।
यस्तै काठमाडौँमा कारखाना रहेको युनिकेयर इन्स्टयान्ट ह्यान्ड सेनिटाइजर ६५ एमएल तथा ललितपुरमा बनेको सासा इन्स्टयान्ट ह्यान्ड सेनिटाइजर ५० एमएलमा मिथानोलको मात्रा क्रमशः ५५ र ३९.३४ प्रतिशत पाइएको विभागले जनाएको छ ।
विभागका अनुसार चीनबाट आएको ओपकलमा इथानोलको मात्रा ६८ प्रतिशत पाइयो भने भारतको गुजरातमा बनेको पामाकेयरमा ६६ प्रतिशत इथानोल भएको भेटिएको छ ।
सो विभागमा महानिर्देशक नारायणप्रसाद ढकालले ती सेनिटाइजर जनस्वास्थ्यका हिसाबले असाध्यै हानिकारक भएकाले आमउभोक्तालाई सचेत गराउन तत्काल सूचना गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मिथानोल र इथानोल विषालु रसायन रङ लगाउँदा प्रयोग हुन्छ । यो रसायन मिसाइएको सेनिटाइजर प्रयोग गर्दा तत्काल छालामा एलर्जीजस्तो हुने समस्या आउनुका साथै खानामा पर्दा ज्यानै जान पनि सक्छ, नभए दीर्घकालमा क्यान्सरलगायतका डरलाग्दो रोग लाग्न पनि सक्छ ।
विभागले कम गुणस्तर तथा हानिकारक विषाक्तयुक्त सेनिटाइजरको बिक्री वितरण रोक्न र बजारमा भएको सेनिटाइजर तुरुन्त फिर्ता लैजान विभागले उत्पादक उद्योगलाई आग्रह पनि गरिरहेको छ ।
केही दिनअघि विभागले नेपालमै उत्पादिन पाँच ब्रान्डका सेनिटाइजरमा पनि यस्तै प्रकृतिका विषाक्त रसायन भएको फेला पारेको जनाएको थियो । यसअघि नाम सार्वजनिक उद्योग उपत्यकाकै त्यसमा पनि चारवटा काठमाडौँमा सञ्चालित र एउटा भक्तपुरको थियो ।
विभागका महानिर्देशक ढकालले विभागको अनुगमन टोलीले पछिल्लो १५ दिनमा सङ्कलन गरेका ३० वटा नमुनामा डरलाग्दो वा घातक विषाक्त रसायन भेटिएको जानकारी दिनुभयो ।
औषधि व्यवस्था विभागमा सेनिटाइजर उत्पादनका लागि दर्ता भएका ४० वटा उद्योग मात्रै छन् तर पछिल्लो समयमा सेनिटाइजरको माग बढेपछि साबुन उत्पादन गर्दै आएकाले समेत सेनिटाइजर उत्पादन गरेका छन् ।
उहाँले विभागमा दर्ता भएका सबै उद्योगबाट उत्पादित सेनिटाइजर गुणस्तरीय नभएकाले यी उद्योगको पनि अनुगमन गरेर नमुना सङ्कलन गरी परीक्षण गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
कुन कानुन लाउने अन्योल
विभागले विषाक्त सेनिटाइजर उत्पादन गर्ने उद्योगले गम्भीर खालको त्रुटि गरेकाले मुलुकी अपराध संहिताअनुसार कारबाही गर्ने कि अन्य कुनै कानुन भन्ने विषयमा सरोकारवालासँग छलफल भइरहेको जनाइएको छ । महानिर्देशक ढकालले नेपाल बाहिरबाट आउनेको हकमा निर्यातमा प्रतिबन्ध गर्ने र स्वदेशको उत्पादन रोक्नेदेखि कानुनी कारबाही गरिने जानकारी दिनुभयो ।
सेनिटाइजर उत्पादनका नाममा जनस्वास्थ्य गम्भीर असर गर्ने खालका रसायन प्रयोग गरेर गम्भीर अपराध गरेकाले मुलुकी अपराध संहिताअनुसार कारबाहीमा जाने भन्ने विषयमा वकिलसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “योे विषय एक÷दुई दिनभित्र टुङ्गो लगाएर कारबाही सुरु गर्छौं । ”  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?