logo
२०८१ बैशाख ६ बिहीवार



कोभिडको असर सामाजिक सुरक्षा कोषमा

राष्ट्रिय |


कोभिडको असर सामाजिक सुरक्षा कोषमा


सीता शर्मा

काठमाडौँ, भदौ ११ गते । कोभिड–१९ को असर योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेत परेको छ । कोभिड–१९ कारण रोजगारदाता र योगदानकर्ताको कोषमा आबद्धता हुने क्रम निकै कम भएको छ ।
कोभिड­–१९ ले एकातिर श्रमिकको श्रम गुमेको अवस्था छ भने अर्कोतिर साना तथा मझौला उद्योग–व्यवसाय धराशयी भएका छन् । त्यस्तो अवस्थामा न योगदानकर्ताले योगदान गर्न सक्छ न रोजगारदाताले नै । त्यसले गर्दा पनि केही समय कोषले गति लिन नसक्ने सरोकारवाला बताउँछन् ।
कोषमा आबद्ध भएकामध्ये धेरै बेरोजगार भइसकेका छन् भने साढे १२ हजार रोजगारदाता दर्ता भए तर कतिपयले आफ्नो व्यापार–व्यवसाय बन्द गर्नुपर्ने स्थिति बनेको छ । सामाजिक सुरक्षा कोषका लागि यो विषय धेरै ठूलो चुनौती बनेको छ ।
कोषका अनुसार अहिलेसम्म १२ हजार ६३९ रोजगारदाता प्रतिष्ठान र एक लाख ७२ हजार २८ जना योगदानकर्ता सूचीकृत भएका छन् । त्यसो त गत फागुनसम्म लगभग १२ हजार ५५० रोजगारदाता र एक लाख ६० हजार योगदानकर्ता कोषमा आबद्ध वा सूचीकृत भएको देखिन्छ । फागुनसम्म र चैतदेखि अहिलेसम्मको तथ्याङ्क हेर्दा यो सङ्ख्यामा खासै थप भएको देखिँदैन ।
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषमा आबद्ध हुने क्रमले निरन्तरता पाइरहेको भए पनि पहिलेजस्तो उत्साह भने नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसो भन्दैमा कोषमा आबद्धता हुने क्रम रोकिएको भने होइन, नआएकालाई आउन आह्वान पनि गरिरहेका छौँ । सबै क्षेत्रबाट आबद्ध हुन आइरहनुभएको छ । ”
कार्यकारी निर्देशक ज्ञवालीले सरकारले चार महिनाको रोजगारदाता र योगदानकर्ताले कोषमा गर्नुपर्ने योगदानबापतको रकम सबै कोषले नै बेहोर्ने व्यवस्था गरेकाले कोषमा आबद्धता हुन झन् उत्साह हुनुपर्ने भए पनि त्यस्तो नदेखिएको बताउनुभयो ।

बागमती प्रदेशका धेरै
प्रदेशगत रूपमा कोषमा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णाली प्रदेशको सबैभन्दा कम सहभागिता देखिन्छ । बागमती प्रदेशमा अहिलेबाट रोजगारदाता ६७ प्रतिशत र योगदानकर्ता ७५ प्रतिशतभन्दा बढी छन् । यस प्रदेशबाट अहिलेसम्म आठ हजार ५२७ वटा रोजगारदाता प्रतिष्ठान र एक लाख २९ हजार ५०२ जना योगदानकर्ता कोषमा सूचीकृत भएका छन् ।
यस्तै कर्णाली प्रदेशबाट १२८ रोजगारदाता र ३६६ योगदानकर्ता मात्रै सूचीकृत भएका छन् । त्यसैगरी प्रदेश १ बाट रोजगारदाता प्रतिष्ठान एक हजार ८६० र योगदानकर्ता १७ हजार १७०, प्रदेश २ बाट रोजगारदाता प्रतिष्ठान ५०२ र योगदानकर्ता १२ हजार २७३, गण्डकी प्रदेशबाट ५८४ रोजगारदाता प्रतिष्ठान र योगदानकर्ता छ हजार ६७२ सूचीकृत भएका छन् ।
त्यसैगरी प्रदेश ५ बाट रोजगारदाता प्रतिष्ठान ९०२ र योगदानकर्ता पाँच हजार ४१७ कोषमा सूचीकृत भएका छन् भने सुदूरपश्चिम प्रदेशबाट १३६ रोजगारदाता प्रतिष्ठान र ६२७ योगदानकर्ता सूचीकृत भएको कोषले जनाएको छ ।

तीन महिनाको भुक्तानी बाँकी
बन्दाबन्दीले उद्योग र व्यवसाय बन्द भएको भन्दै चार महिनासम्मको योगदानबापतको सबै रकम कोषले जम्मा गरिदिने निर्णय गरेको थियो । जसमा रोजगारदाताको २० प्रतिशत र योगदानकर्ताको ११ प्रतिशत गरी ३१ प्रतिशत रकम कोषले हरेक योगदानकर्ताको नामको खातामा जम्मा गर्नुपर्छ ।
तर कोषले चैतसम्मको मात्रै रकम खातामा पठाएको छ । बाँकी तीन महिनाको रकम अहिलेसम्म निकासा नभएको र प्रक्रियामा रहेको कोषले जनाएको छ । कोषका अनुसार चैतमा योगदानकर्ताको योगदानबापतको २८ करोड ६३ हजार रुपियाँ बराबरको रकम योगदानकर्ताको नामको खातामा जम्मा गरिसकेको छ ।
वैशाख, जेठ र असारको ८५ करोड रुपियाँभन्दा बढी रकम निकासाका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुँदै अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पुगेको र त्यो आउनेबित्तिकै खातामा पठाइने कोषका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?