logo
२०८१ बैशाख १३ बिहीवार



विमानस्थल क्षेत्रका रुख गणना सुरु

खुला |


विमानस्थल क्षेत्रका रुख गणना सुरु


भउचप्रसाद यादव

काठमाडौँ, भदौ ४ गते । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा परेका रुखको गणना सुरु गरिएको छ । आयोजना स्थलमा परेका रुखको सङ्ख्या यकिन गर्न तथा विमानस्थल निर्माणका क्रममा ठूलो सङ्ख्यामा रुख काटिने भन्ने हल्लालाई चिर्न रुख गणना सुरु गरिएको सो आयोजनाले जनाएको छ ।
ठूलो सङ्ख्यामा रुख काटिने र वातावरणमा गम्भीर असर पर्ने भ्रमलाई चिर्न रुख गणना सुरु गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विजयकुमार यादवले जानकारी दिनुभयो ।
नागरिक उड्डयन प्राधिकरण, जिल्ला वन कार्यालय, बाराको समन्वयमा रुख गणना सुरु गरिएको बताउँदै उहाँले विमानस्थलको कुल आठ हजार हेक्टर क्षेत्रफलमध्ये १९ हेक्टरको रुख गणना सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले रुख गणनाको पहिलो चरणमा विमानस्थल क्षेत्रको एक हजार नौ सय हेक्टरमा पर्ने रुखहरूको गणना सुरु गरिएको छ । पहिलो चरणको गणनापछि अर्को चरणमा काम सुरु गरिनेछ । आयोजनाले पहिलो चरणअन्तर्गत काम सुरु गरेको एक हजार नौ सय हेक्टरलाई १२ भागमा विभाजन गरी रुख गणनाको काम सुरु गरेको हो भन्नुभयो । उहाँले १२ मध्ये पहिलो भागको गणना सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
विमानस्थल क्षेत्रमा पर्ने रुखको सङ्ख्या निर्धारण तथा कटान सुरु हुन नसक्दा दुई दशकअगाडि मुलुककै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा प्रस्तावित उक्त विमानस्थलको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । २०५१ देखि चर्चामा रहेको सो विमानस्थल निर्माणका लागि आर्थिक वर्ष २०६५÷६६ देखि बजेट विनियोजन हुँदै आएको छ ।
जिल्ला वन कार्यालय, बाराका प्रमुख मन्जुर अहमदले निजगढ विमानस्थल निर्माण आयोजनाको प्रस्तावमा ‘ग्लोबल पोजेसिनिङ सिस्टम’ (जीपीएस) प्रणालीका आधारमा रुख गणना कार्य सुरु गरिएको जानकारी दिनुभयो । पहिलो चरणअन्तर्गत एक हजार नौ सय हेक्टरलाई १२ वटा क्लस्टरमा विभाजन गरी पहिलो क्लस्टरको ९८ हेक्टर क्षेत्रफलमा २७ हजार ५३३ वटा रुख र पोल पाइएको उहाँले जानकारी दिनुभयो ।
विमानस्थल निर्माणका लागि २४ लाख रुख काट्नुपर्छ भन्ने गलत हल्ला फैलाइएको आयोजना प्रमुख यादवले बताउनुभयो । सो आयोजनाका लागि स्वीकृत गरिएको ईआईए प्रतिवेदनलाई उद्धृत गर्दै उहाँले आयोजनाका लागि ठूला रुख पाँच लाख ८५ हजार ४९९ र १८ लाख ६४ हजार ८२० वटा पोल आकारका रुख काट्नुपर्ने बताउनुभयो ।
ईआईए प्रतिवेदनअनुसार विमानस्थल निर्माणका क्रममा काटिने रुखको शोधभर्ना बापत छ करोड १२ लाख ७० हजार ५२५ नयाँ बिरुवा रोप्नुपर्ने छ । शोधभर्ना बापतको रुख रोप्नका लागि बारा, पर्सा र मकवानपुरमा जग्गा खोजी भइरहेको आयोजनाले जनाएको छ ।
तीन हजार छ सय मिटर लामो र ४५ मिटर फराकिलो धावनमार्ग हुने उक्त विमानस्थलले वार्षिक छ करोड यात्रुको चाप थेग्ने बत(ाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?