logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा कुल सङ्क्रमितमध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त

अन्तर्राष्ट्रिय |


भारतमा कुल सङ्क्रमितमध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त
तस्विर–फाइल


नयाँदिल्ली, साउन ३० गते ।
भारतमा कोरोनाभाइरसका कुल सङ्क्रमितमध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । भारतमा शुक्रबारसम्म कुल सङ्क्रमितको सङ्ख्या २४ लाख नाघेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार देशभरि अहिले १७ लाखभन्दा बढी सङ्क्रमितहरू सङ्क्रमणमुक्त भएका छन् । उनीहरूका अनुसार भारतमा अहिलेसम्म १७ लाख ५१ हजार ५५५ जना सङ्क्रमण मुक्त भएका हुन ।
मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार ७०० जनाको मृत्यु भएको छ भने सङ्ख्या ६४ हजार ५५३ जना सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूमध्ये १।९५ प्रतिशतको मात्रै मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेपनि झण्डै छ लाख ६० हजार मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको २६.८८ प्रतिशत हो । भारतमा कुल सङ्क्रमितको सङ्ख्या २० लाख नाघेको यही अगस्ट ७ मा हो । सरकारी अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म दुई करोड ७६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ । तीमध्ये आठ लाख ४८ हजार ७२८ जनाको बिहीबार मात्रै परीक्षण गरिएको हो । यो सङ्ख्या एकैदिनमा परीक्षण गरिएकाहरूको सङ्ख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका कुल एक हजार ७०० जनामध्ये महाराष्ट्र प्रदेशका मात्रै सबैभन्दा धेरै ४१३ रहेको छ । त्यसैगरी तमिलनाडुमा ११९, कर्नाटकमा १०३, आन्ध्रप्रदेशमा ८२, पश्चिम बंगालमा ५६, उत्तर प्रदेशमा ५०, पञ्जावमा ३१, गुजरातमा, १८ जना सङ्क्रमितको मृत्यु भएको छ ।
अधिकारीहरूका अनुसार मध्य प्रदेशमा १७, दिल्ली राज्यमा १४, झारखण्डमा १२, जम्मु काश्मिर र राजस्थानमा ११/११ जना र बिहारमा दश जनाको पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको छ ।
त्योभन्दा थोरै सङ्ख्यामा देशका अन्य प्रदेशहरूमा पनि मृत्युको विवरणहरू प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।भारतमा अहिलेसम्म कोरोनाका कारण ४८ हजार ४० जनाको मृत्यु भएको छ । ती मध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशका कुल १९ हजार ६३ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?