logo
२०८१ बैशाख ७ शुक्रवार



तीन जिल्लाका कोरोना सङ्क्रमितलाई ओखलढुङ्गामा राखिने

प्रदेश |


तीन जिल्लाका कोरोना सङ्क्रमितलाई ओखलढुङ्गामा राखिने


मनोज भट्टराई

ओखलढुङ्गा, साउन ३० गते । ओखलढुङ्गामा तीन जिल्लाका कोरोना सङ्क्रमितलाई राखिने भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले आइसोलेसन व्यवस्थापन गरेर तीन जिल्लाका सङ्क्रमित राख्न निर्देशन दिएसँगै जिल्ला अस्पताल रुम्जाटारमा ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङका कोरोना सङ्क्रमितलाई अस्पतालको आइसोलेसनमा राखिने भएको हो ।

मन्त्रालयले २० शय्याको आइसोलेसन तयार गर्न निर्देशन दिएको र मन्त्रालयको निर्देशनअनुसार हाल आस्पतालको क्वार्टर भवनमा १२ शय्याको आइसोलेसन तयार भइसकेको जिल्ला अस्पताल रुम्जाटारका मेडिकल सुरपरिटेण्डेन्ट सन्तोष देवले जानकारी दिनुभयो । आइसोलेसनको बाँकी शय्या निर्माणका लागि अस्पतालसँगैको सार्वजनिक प्राथमिक विद्यालय र वन कार्यालयको भवन प्रयोग गर्ने अवस्था आएको देवको भनाइ छ ।

प्रदेश नं. १ को माथिल्लो सगरमाथामा पर्ने सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गामा हालसम्म ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने हाल ४१ जना सङ्क्रमणमुक्त भई सकेका छन् र एक जना मात्र उपचाररत रहेका छन् । हालसम्म ओखलढुङ्गामा २२ जना, खोटाङमा १३ जना र सोलुखुम्बुमा सात जनामा सङ्क्रमण पुष्टि भएको छ । सोलखुम्बु र ओखलढुङ्गामा अहिले सङ्क्रमित नभएको र खोटाङमा भने एक जना उपचाररत रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?