logo
२०८१ बैशाख १२ बुधवार



सङ्क्रमण बढेपछि स्थानीय स्तरमा थप कडाइ

खुला |


सङ्क्रमण बढेपछि स्थानीय स्तरमा थप कडाइ
कोरोना फैलिएको स्थानमा सिलबन्दी


प्रदेश ५ ब्युरो

बुटवल, साउन ३० गते । कोरोना सङ्क्रमणको जोखिम झन् बढ्दै गएपछि स्थानीय सरकारले आआफ्ना क्षेत्रमा थप कडाइ गर्न थालेका छन् । प्रदेश ५ का विभिन्न नगर र गाउँपालिकाले आआफ्ना क्षेत्रलाई लकडाउन र सिल गर्दै सजगता अपनाउन थालेका छन् ।
नेपाल नगरपालिका सङ्घ प्रदेश ५ का संयोजक शिवराज सुवेदीले सङ्घीय सरकारको मापदण्ड र जिल्ला प्रशासनको समन्वयमा विभिन्न स्थानीय सरकारले आवश्यकता अनुसार लकडाउन वा सिल गरेर कडाइ गरेको बताउनुभयो । उहाँले सङ्क्रमणको जोखिमबारे सर्वसाधारणलाई सजग र सचेत बनाउने अभियान पनि सञ्चालन गरिएको बताउनुभयो ।

लकडाउन घोषणा
रुपन्देही समाचारदाताका अनुसार समुदायमा कोरोनाको सङ्क्रमितको सङ्ख्या बढेपछि बुटवल उपमहानगरपालिकाले पुनः एक साताका लागि पूर्ण लकडाउन घोषणा गरेको छ । बुटवल उपमहानगरपालिका क्षेत्रमा बिहीबार राति ११ः४५ बजेदेखि आगामी भदौ ५ गते राति ११ः४५ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको छ । उपमहानगरका प्रमुख गोमादेवी आचार्यले बुटवल उपमहानगरपालिकामा नगरप्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।

नतिजा नेगेटिभ
बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका दुई जनामध्ये एक जनाको नतिजा नेगेटिभ आएको छ । बुटवलको रामनगरमा निर्मित कोरोना विशेष अस्थायी अस्पतालमा आइसोलेसनमा उपचाररत कपिलवस्तुका दुई जनाको बुधबार राति मृत्यु भएको थियो । अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले मृतक कपिलवस्तु नगरपालिका–२, तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ताको नतिजा कोराना पोजेटिभ आएको थियो भने अर्का कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको नतिजा बिहीबार नेगेटिभ आएको जानकारी दिनुभयो । यसैबीच समुदायमा कोरोना सङ्क्रमण बढेपछि आंशिक रूपमा सञ्चालनमा आएको यातायात सेवा पनि अवरुद्ध हुने भएको छ ।

हातेमालो आवश्यक
बुटवल समाचारदाताका अनुसार प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोनालाई परास्त गर्न सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । उहाँले स्वास्थ्यकर्मी, सञ्चार क्षेत्र, मानव अधिकारकर्मी र नागरिक समाजको समन्वय र सहकार्यमा प्रदेश सरकारले कोरोना नियन्त्रणमा सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा बुटवलमा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री बरालले कोरोना नियन्त्रणका लागि प्रदेश सरकार दृढ रहेको भन्दै प्रदेश ५ मा कोरोना महामारी नियन्त्रणको दायराभित्र रहेको पनि बताउनुभयो ।

अझै क्वारेन्टाइन
नेपालगञ्ज समाचारदाताका अनुसार विद्यालयमा क्वारेन्टाइन बनाउन नपाइने सरकारको निर्णयविपरीत बाँकेका पाँचवटा विद्यालयमा अझै पनि क्वारेन्टाइन सञ्चालनमा रहेका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइले विद्यालयमा क्वारेन्टाइन नबनाउनु भनी सबै स्थानीय तहलाई जानकारी गराए पनि विद्यालयमा अझै क्वारेन्टाइन राखिएको पाइएको जनाएको छ । एकाइ प्रमुख रामसुरेश यादवले यसअघि जिल्लाका ११५ वटा विद्यालयमा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गरिएकामा अहिले पाँचवटा विद्यालयमा मात्र क्वारेन्टाइन सञ्चालनमा रहेको जानकारी प्राप्त भएको बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?