logo
२०८० चैत्र १५ बिहीवार



अमेरिकी कदमविरुद्ध चीनद्वारा ११ अमेरिकीमाथि प्रतिबन्ध

अन्तर्राष्ट्रिय |


अमेरिकी कदमविरुद्ध चीनद्वारा ११ अमेरिकीमाथि प्रतिबन्ध


बेइजिङ, साउन २६ गते। चीनले अमेरिकी सिनेटरहरू मार्को रुबिओ र टेड क्रुजसमेत ११ जना प्रभावशाली अमेरिकी नागरिकविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध घोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा हङकङसँग सम्बन्धित मामिलामा केही मानिसले नराम्रो व्यवहार गरेकाले प्रतिबन्धहरू लगाउनुपरेको जानकारी दिनुभयो । चिनियाँ प्रतिबन्धको सूचीमा ह्युमन राइट्स वाचका निर्देशक केनेथ रथ र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीका अध्यक्ष कार्ल गर्सम्यान पनि रहनुभएको छ ।
अमेरिकाले शुक्रबार हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र १० जना चिनियाँ वरिष्ठ अधिकारीको संयुक्तराज्य अमेरिकामा रहेका सम्पत्ति रोक्का राख्ने घोषणा गरेको थियो । चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेपछि त्यसको विरोधमा अमेरिकाले कडा प्रतिबन्धहरू घोषणा गरेको बताइएको छ ।
अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र प्रतिबन्धहरू घोषणा गरिएका अरु चिनियाँ वरिष्ठ अधिकारीहरूले चीनका नीतिहरू हङकङमा कार्यान्वयनमा ल्याउन प्रमुख भूमिका निर्वाह गरेको आरोप लगाएको छ ।
प्रवक्ता चाओले अमेरिकी कदमले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन गरेको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?