logo
२०८० चैत्र १५ बिहीवार



पाँच स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना सङ्क्रमण, अस्पतालको सेवा बन्द

फिचर |


पाँच स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना सङ्क्रमण, अस्पतालको सेवा बन्द


धीरेन्द्रप्रसाद साह
राजविराज, साउन २३ गते । सप्तरीमा एकै दिन पाँच स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि शुक्रबार बिहानदेखि गजेन्द्रनारायण सिंह अस्पतालकाे स्वास्थ्य सेवा बन्द गरिएको छ ।

सङ्क्रमित स्वास्थ्यकर्मीहरूलाई आइसोलेसनमा भर्ना गरेपछि र सङ्क्रमितको सीधा सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीसहित २७ जनालाई क्वारेन्टाइनमा बसाउनुपर्दा सेवा बन्द गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाले जानकारी दिनुभयो । शुक्रबार दिनभरि सेवा बन्द गरेर स्वास्थ्यकर्मी व्यवस्थापन गरी शनिबारदेखि सेवा सुचारु गर्ने तयारीमा लागेको उहाँले बताउनुभयो ।

यससँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या नौ पुगेको छ । यसअघि पाँच जना स्वास्थ्यकर्मीहरूमध्ये दुई जना निको भएर घर फर्किसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. झाले भन्नुभयो, अहिले सात जना स्वास्थ्यकर्मीहरू आइसोलेसनमा भर्ना छन् ।

बिहीबार राति आएको रिपोर्टमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको इमर्जेन्सी वार्डका चार जना र छिन्नमस्ता अस्पतालका एक हेल्थ असिस्टेन्टसहित पाँच जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

यस्तै सोही रिपोर्टमा छिन्नमस्ता गाउँपालिका-५ का दुई जना उमेर नखुलेका पुरुष, वडा नं. ४ का २५ वर्षीया महिला, राजविराज नगरपालिकाको वडा नखुलेका स्वास्थ्यकर्मीहरू ४०, ४०, ३१ र ३८ वर्षीय पुरुष, राजविराज-४ का ३३ वर्षीय पुरुष र ५५ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएको बताइएको छ ।

त्यसैगरी, रुपनी गाउँपालिका-६ का २४ वर्षीय पुरुष, महादेवा गाउँपालिका-२ का ३७, ३७, ३६ र ३४ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका-२ का उमेर नखुलेका तीन जना पुरुष र वडा नं. ७ का उमेर नखुलेका एक जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५७ पुगेको छ भने ३८३ जना निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा १०४ जना उपचारका लागि भर्ना छन् । अहिलेसम्म दुई जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?