logo
२०८० चैत्र १६ शुक्रवार



सार्कमा कोरोना मृत्युदर बढ्दै

मुख्य समाचार |


सार्कमा कोरोना मृत्युदर बढ्दै


चाँदनी हमाल

काठमाडौँ, साउन २३ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणबाट विश्वव्यापी मृत्युदर ३.८ प्रतिशत छ । सार्क मुलुकमा मात्र दुई प्रतिशत पुगेको छ । नेपालमा पनि कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएको छ ।
यतिबेला नेपालमा कोरोना सङ्क्रमणको मृत्युदर ०.३ प्रतिशत रहेको छ । करिब एक महिना अघि नेपालमा ०.१ प्रतिशत मृत्युदर रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सार्क क्षेत्रका आठ मुलुकमध्ये सबैभन्दा बढी अफगानिस्तानमा ३.५ प्रतिशत मृत्युदर छ ।
त्यसपछि भारत र पाकिस्तानमा २.१ प्रतिशत, बङ्गलादेशमा १.३ प्रतिशत, श्रीलङ्कामा ०.४ प्रतिशत मृत्युदर पुगेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु नहुने एउटै मात्र सार्क मुलुक भुटान रहेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार विश्वभर एक करोड ८७ लाख २८ हजार ५४७ जना सङ्क्रमित पुगेका छन् । जसमध्ये सात लाख चार हजार बढीको ज्यान गएको छ । तीमध्ये ६३ प्रतिशत निको भएका छन् । अझै ३३.९ प्रतिशत सक्रिय कोरोना सङ्क्रमित छन् । सार्क मुलुकतर्फ नेपालमा २७.६ प्रतिशत सक्रिय सङ्क्रमित छन् । निको भएर घर फर्कनेमा नेपालका ७२.१ प्रतिशत छन् ।
भारतमा १९ लाख १० हजार ६८१ सङ्क्रमित छन् । ३९ हजार ८५६ को मृत्यु भएको छ । निको हुने दर पनि नेपालको बढी रहेको जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो । भारतसरह नै मृत्युदर रहेको पाकिस्तानमा निको हुने अत्यधिक अर्थात् ८८.९ प्रतिशत छन् । त्यहाँ जम्मा सक्रिय सङ्क्रमित ८.९ प्रतिशत छन् । त्यहाँ दुई लाख ८१ हजार १३६ जना सङ्क्रमितमध्ये छ हजार १४ को मृत्यु भएको छ ।
श्रीलङ्कामा ८९ प्रतिशत निको भएका र १०.६ प्रतिशत सक्रिय सङ्क्रमित छन् । भुटानमा ८७.४ प्रतिशत निको भएका र १२.६ प्रतिशत सक्रिय सङ्क्रमित छन् । सबैभन्दा बढी मृत्युदर रहेको अफगानिस्तानमा ६९.५ प्रतिशत निको भएका र २७ प्रतिशत सक्रिय सङ्क्रमित छन् । त्यहाँ ३६ हजार ८२९ सङ्क्रमितमध्ये एक हजार २९४ को मृत्यु भएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?