logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रपति ट्रम्पको सामग्री फेसबुकले हटायो

अन्तर्राष्ट्रिय |


राष्ट्रपति ट्रम्पको सामग्री फेसबुकले हटायो
तस्विर–यूरोन्युज


सानफ्रान्सिस्को, साउन २२ गते । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडिओ पोस्टलाई हटाइदिएको बुधबार जनाएको छ । भिडिओमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट बालबालिका सुरक्षित रहेको दाबीसहितको सन्देश प्रवाहित गर्नुभएको थियो । फेसबुकले राष्ट्रपतिको उक्त दाबीलाई “कोभिडसम्बन्धी अहितकर झुठो सूचना” को वर्गीकरणभित्र राख्दै फेसबुकबाट हटाएको जनाएको छ ।
विश्वकै अग्रणी सामाजिक सञ्जाल फेसबुकले राष्ट्रपति ट्रम्पले पोस्ट गर्नुभएको सामग्रीलाई आपत्तिजनक र गलत ठहर्याउँदै फेसबुक पेजबाट हटाएको यो पहिलो पटक हो । हुन त यसअघि राष्ट्रपति ट्रम्पको चुनावी अभियानको पेजमा प्रयोग भएको नाजी प्रतीक चिह्नलाई पनि फेसबुकले हटाएको थियो ।
फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको यो भिडिओ अंशमा राष्ट्रपति ट्रम्पले कोभिड–१९ बाट एउटा समूह सुरक्षित रहेको भन्दै गलत दाबी गरिएको फेसबुकका प्रवक्ताले बताउनुभएको छ । उहाँले कोभिडसम्बन्धी फेसबुकको नीति विपरीत राष्ट्रपति ट्रम्पको दाबी फेसबुकमा पोस्ट भएको जानकारी दिनुभयो । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा आफ्नो भनाइको बचाउ गर्नुभएको थियो । उहाँले भन्नुभयो, “बालबच्चाहरूले कोभिडलाई सहजै परास्त गर्न सक्छन् भन्ने मेरो धारणा हो । उनीहरूमा रोगप्रतिरोधी क्षमता बढी हुन्छ ।”
स्वास्थ्य अधिकारीहरूले कोभिडको असर जुनसुकै उमेर समूहका व्यक्तिमा हुने जनाउँदै सतर्कता अपनाउन निरन्तर आग्रह गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले गत साता पनि कोभिडसम्बन्धी गलत सूचना प्रवाह गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?