logo
२०८० चैत्र १५ बिहीवार



वर्षा गराउने ‘न्यून चापीय रेखा’

मुख्य समाचार |
फिचर |


वर्षा गराउने ‘न्यून चापीय रेखा’


चाँदनी हमाल

काठमाडौँ, साउन २१ गते । यतिबेला वर्षा गराउने मनसुनी ट्रफ अर्थात् न्यून चापीय रेखा नेपालभन्दा पर दक्षिणतिर सरेको छ । मौसम पूर्वानुमान महाशाखाको मौसमी विवरणमा उल्लेख रहेको यस सूचनाले नेपालका धेरै भूभागमा मौसम सफा छ भन्ने जानकारी दिन्छ । अर्थात् पानी परेको छैन ।
सधँै चर्चा भइरहने न्यून चापीय रेखा के हो त ? मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनमा माथिल्लो वायुमण्डलमा बन्ने एउटा मौसमी रेखा नै न्यून चापीय रेखा हो । यो रेखा पृथ्वीको भूमध्यरेखा, अक्षांश र देशान्तर रेखाजस्तो तटस्थ रेखा हैन । यसले भौगोलिक विवरण हैन मौसमी विवरण बताउँछ ।
मानन्धरका अनुसार जमिनबाट करिब १२ देखि १८ किलोमिटरमाथिको वायुमण्डलमा बन्ने यही रेखाका कारण मनसुनी गतिविधि चल्छ । जुन ठाउँमा तातो हावा हुन्छ, त्यो ठाउँमा चाप कम हुन्छ । मनसुनको समयमा प्रायःजसो यस्तोे ठाउँ बन्छन् । त्यहाँको चापलाई सन्तुलित गर्न चारैतिरबाट वायुहरू आउने गर्छ । गर्मीको मौसममा समुद्रबाट बाफ आउँछ र त्यो पछि बादल बन्छ । त्यसरी आएको जलवाष्प न्यून चापीय रेखामा बसेपछि त्यहाँ पानी पार्ने बादलको सिर्जना हुन्छ । “बादलमा पानीको चाप बढेपछि त्यहाँ बस्न सक्दैन र पानी पर्छ,” मानन्धरले भन्नुभयो । पृथ्वीको उत्तरी गोलाद्र्धमा गर्मीको समयमा जुनदेखि सेप्टेम्बरसम्म मनसुनको समय हो । सूर्यको ताप बढी परेपछि न्यून चापको सिर्जना भई नै रहन्छ । यस्तोमा समुद्र र जमिनबीचमा मनसुनी पुलको अवधारणा अनुसार वर्षाको चक्र चल्छ । जमिन तातो हुँदा समुद्र चिसो हुन्छ । त्यसैले समुद्रबाट जमिनतर्फ हावा बहन्छ ।
मौसमविद्का अनुसार जाडोे मौसममा भने ठीक उल्टो जमिन चिसो र समुद्र तातो हुन्छ । जसअनुसार जमिनबाट समुद्रतिर हावा जान्छ । गर्मीमा बन्ने न्यून चापीय रेखा एकै स्थानमा स्थिर रहँदैन । सूर्यको ताप रहेको स्थानमा उच्च चाप हुन्छ । उच्च र न्यून चापको बीचको सन्तुलन कायम गर्न अन्यत्रबाट जलवाष्प र हावा न्यून चापतर्फ सोहोरिएर सन्तुलित वातावरण बनाउँछ । पानी परिसकेपछिको अवस्था तटस्थ हो । त्यसपछि फेरि अन्यत्र जहाँ न्यून चाप बन्छ, त्यहाँ यही प्रक्रिया दोहोरिन्छ ।
न्यून चापीय रेखामा बादल बनिसकेपछि पानी पर्नका लागि बा(दलको छुट्टै संयन्त्रले काम गर्छ । बादलमा हुने र जमिनमा हुने पोजेटिभ आयोन र नेगेटिभ आयोनबीच सङ्घर्ष चल्छ । त्यसबेला करेन्ट निस्केर चट्याङ पर्छ । बादलमा हुने पानीको अणु यस्तो सङ्घर्षका क्रममा एकआपसमा मिल्ने र बिलाउने क्रम चल्छ । “पानी आकाशमा बस्न नसक्ने आकारको भएपछि वर्षा बनेर जमि(नमा खस्छ,” मौसमविद् मानन्धरले स्पष्ट पार्नुुभयो ।
नेपालमा चल्ने मनसुनी प्रक्रियामा दिल्ली, गङ्गा नदी, बङ्गालको खाडीसम्म र नेपालको आसपास बढी न्यून चापीय रेखा बन्ने मौसमविद् बरुण पौडेलले जानकारी दिनुुभयो । “न्यून चापीय रेखा नेपालको नजिक बन्दा बढी वर्षा हुने सम्भावना बलियो हुन्छ । ठ्याक्कै नेपालमाथि रहेका बेला अत्यधिक वर्षा हुन्छ । तल, दायाँ, बायाँ सर्दा भने कम वर्षा हुन्छ,’’ उहाँले स्पष्ट पार्नुुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?